अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका–२ मा रहेको बल्कोट प्रहरी चौकीको नवनिर्मित भवनको उद्घाटन लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) दान बहादुर कार्कीले शुक्रबार गर्नुभएको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि कार्कीले शान्ति सुरक्षामा अर्घाखाँची प्रहरीले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले प्रहरी जनताको साथी भएकाले समस्याको समाधानमा सक्रिय रहनुपर्नेमा जोड दिनुभयो । प्रहरीले निडर, निष्पक्ष र जनउत्तरदायी सेवा दिनुपर्ने बताउँदै उहाँले अपराध नियन्त्रण र जनताको सुरक्षामा निरन्तर क्रियाशील रहन समेत निर्देशन दिनुभयो ।
छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठले शान्ति सुरक्षामा प्रहरीको भूमिका अतुलनीय रहेको बताउँदै प्रहरी बर्दीधारी भए पनि जनता बिना बर्दीका प्रहरी भएको टिप्पणी गर्नुभयो । प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनाल लगायतले प्रहरी प्रशासन र स्थानीय बासी बीच सहकार्य आवश्यक रहेको औंल्याएका थिए ।
नवनिर्मित प्रहरी भवनको संरचना र सुविधाबारे ईन्जिनियर प्रहरी नायब निरीक्षक रोशन सारुले जानकारी गराउनुभयो । उक्त भवन आधुनिक प्रविधियुक्त रहेको र प्रहरी सेवासुविधा प्रभावकारी बनाउन निर्माण गरिएको जानकारी दिइएको थियो।
कार्यक्रम प्रहरी नायब निरीक्षक रबिन्द्र चन्दको स्वागत मन्तव्यबाट सुरु भएको थियो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्लको अध्यक्षतामा सम्पन्न उक्त समारोहको सञ्चालन प्रहरी नायब निरीक्षक जगन्नाथ मरासिनीले गर्नुभएको थियो ।
सो अवसरमा छत्रदेव गाउँपालिका उपाध्यक्ष मनि पन्थी, प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डे, स्थानीय जनप्रतिनिधि, नागरिक समाजका अगुवा, पत्रकार लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।
नयाँ भवन सञ्चालनमा आएपछि बल्कोट प्रहरी चौकीको सेवा प्रवाह थप सहज हुने विश्वास स्थानीयबासीले व्यक्त गरेका छन्। अबको दिनमा शान्ति सुरक्षाको प्रवर्धन र स्थानीय समुदायसँगको समन्वय अझै प्रभावकारी हुने अपेक्षा गरिएको छ ।