जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको आयोजनामा कपिलवस्तु नगरपालिका–१०, बिकुलीस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय मा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा कक्षा ९ र १० मा अध्ययनरत ७५ जना विद्यार्थीहरू तथा शिक्षक–शिक्षिकाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी सहायक निरीक्षक विष्णु वलीले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आत्महत्या हुनुका कारण, रोकथामका उपाय तथा सम्बन्धित कानुनी व्यवस्थाबारे प्रशिक्षण प्रदान गर्नुभयो।
प्रहरी सहायक निरीक्षक वलीले आत्महत्याजस्तो गम्भीर समस्याको रोकथामका लागि परिवार, विद्यालय, समुदाय तथा सुरक्षाकर्मीहरूबीच सहकार्य अपरिहार्य रहेको बताउनुभयो। साथै, उहाँले विद्यार्थीहरूलाई आफ्नो मानसिक स्वास्थ्यको ख्याल राख्न, कुनै समस्या परेमा परिवार तथा भरपर्दाे व्यक्तिसँग खुला कुराकानी गर्न र आवश्यक परेमा प्रहरी तथा परामर्शदाता संस्थाहरूको सहयोग लिन आग्रह गर्नुभयो।
विद्यालय प्रशासन तथा विद्यार्थीहरूले कार्यक्रममा व्यक्त गरिएका विचार तथा प्रशिक्षणलाई उपयोगी बताउँदै भविष्यमा पनि यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राखेका थिए ।
जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले आगामी दिनहरूमा पनि विद्यालय तथा समुदायस्तरमा सचेतनामूलक अभियानलाई निरन्तरता दिने बताएको छ ।