कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले आगामी दिनमा प्रदेशस्तरको महोत्सव लगाउने बताएका छन् । लुम्बिनी प्रदेशमा कपिलवस्तु महोत्सवमा बुटवलपछि सबैभन्दा बढी दर्शक आउने गरेको उनले बताए । १५औं कपिलवस्तु महोत्सवको तयारीबारे जानकारी दिन शनिबार आयोजना गरिएको पत्ररका सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष क्षेत्रीले यस्तो बताएका हुन् ।
कपिलवस्तुमा रहेका ५ वटा उद्योग बाणिज्य संघ संग समन्वय गरिरहेको बताउँदै उनले भने प्रदेश र महासंघ संग पनि समन्वय गरेर प्रदेशस्तरको महोत्सव लगाउन पहल गरिरहेका छौं । आगामी दिनमा त्यसका लागि स्वीकृती पाउने आशा पनि छ ।
यस पटकको महोत्सवमा एक जनाले एक पटकमा १० वटा भन्दा बढी टिकट खरिद गर्न नपाउने व्यवस्था मिलाएको उनले जानकारी दिए । उनले हरेक दिन टिकटको रङ्ग परिवर्तन हुने व्यवस्था आयोजकले मिलाएको जानकारी दिदैं यसले डान्स आईडललाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउने विश्वास व्यक्त गरे ।
उनले सामान्य व्यक्तिका लागि टिकट ७० रुपैयाँ र विधार्थीका लागि ५० रुपैयाँ निर्धारण गरिएको जानकारी दिए । उनले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न संघले दैनिक रुपमा स्थानीय स्तरमै उत्पाददित सामग्रीको मात्र प्रयोग गर्ने बताए ।
उनले महोत्सवको उद्घाटन नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले तय भएको जानकारी दिए । उनले २ लाख दर्शक भित्राएर करिब १० करोडको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको बताए । महोत्सव स्थलमा ३ सय वटा व्यवसायिक र २० वटा होटलका स्टलहरु रहने जानकारी दिदैं उनले कृषि, वन तथा स्थानीय उत्पादनको प्रदर्शनी, प्रचारप्रसार, विक्रि वितरणको प्रयोजनका लागि ५० वटा स्टल निर्माण गरिएको बताए ।
उनले स्थानीय उत्पादकहरुका लागि निशुल्क स्टलदेखि ३५ प्रतिशतसम्म छुट दिएको बताए । उनले महोत्सवमा मदिरा विक्रि वितरणलाई निषेध गरिने बताए । संघले हालसम्म आयोजना गरेका कुनै पनि महोत्सवमा प्रतिबन्धित खेलहरु नखेलाएको दाबी गर्दै उनले यसपटकको महोत्सवमा पनि त्यस्ता खेलहरु नखेलाईने बताए ।
यस क्षेत्रमा रहेका विभिन्न जातजातीलाई स्थानीय खानाका परिकारका स्टलहरु राख्न आफुले पटकपटक आह्वान गरेको स्मरण गर्दै उनले भने, ‘अहिले थारु सामुदायका महिलाहरु आउनुभएको छ । थारुहरुको मौलिकता झल्कने गरि टाँटी घर निर्माण गर्दै हुनुहुन्छ ।’
उनले महोत्सव स्थलतर्फ आउने मूल बाटो पिच गर्नका लागि स्थानीय सरकारलाई पटकपटक अनुरोध गरिएको भएता पनि त्यसले सार्थकता पाउन नसकेको बताए । उनले अब यस महोत्सवलाई सभ्यताका साथ सम्पन्न गरेपछि संघले नै उक्त बाटो बनाउने उद्घोष गरे । उनले डान्स आईडललाई विगतको भन्दा पारदर्शी र उत्कृष्ट बनाउन आवश्यक सल्लाह, सुझाव लिएर अघि बढ्ने बताए ।
लुम्बिनी प्रदेशकै ठूलो मञ्च यस महोत्सवमा निर्माण गरिएको दाबी गर्दै अध्यक्ष क्षेत्रीले यस क्षेत्रका व्यवसायीलाई मञ्चको पूर्णरुपमा उदुपयोग गर्न अपिल गरे । उनले स्थानीय उत्पादन, कला, संस्कृतिको प्रचारप्रसार र प्रवद्र्धन गर्न संघले मञ्च उपलब्ध गराउने प्रतिवद्धता जनाए ।
बाणगंगा नगरपालिकाका विभिन्न क्षेत्रमा कपडा बैंक स्थापनाका लागि नगरप्रमुख चक्रपाणी अर्यालले प्रस्ताव राखेको जानकारी गराउँदै उनले भने, ‘नगरपालिकाबाट कपडा बैंकको सुरुवात गर्नका लागि प्रस्ताव आएको छ । कपडा बैंकको ऐम्बेस्डर चर्चित नायक राजेश हमाल हुनुहुन्छ । उहाँ ९राजेश हमाल० नै आएर उद्घाटन गर्ने कार्यक्रम छ । तर मिति निश्चित भईसकेको छैन् ।’ यसले समानमा सकारात्मक सन्देश प्रवाह हुने उनको विश्वास छ ।
उक्त पत्रकार सम्मेलनमा महोत्सवका निर्देशक समेत रहेका हुमानाथ पौडेल, निवर्तमान अध्यक्ष डोलकराम घिमिरे, महासचिव नवदत्त घिमिरे लगायतको उपस्थिति रहेको थियो ।