१५ औं कपिलवस्तु महोत्सवमा दर्शकहरुले सहजै शुद्ध र स्वच्छ खानेपानी पाउने भएका छन् । दैनिक खानेपानीको परिक्षण गरेर पाईपमार्फत दर्शकहरुका लागी खानेपानी उपलब्ध गराउने योजनासहित आयोजक अघि बढेको खानेपानी तथा सरसफाई समितिका संयोजक खिल प्रसाद शर्माले बताए । ‘महोत्सव स्थल सरसफाई र खानोपानीको व्यवस्थापनका लागि काम सुरु भईसकेको छ,’ उनले भने ।महोत्सवभित्र रहने प्रत्येक होटलहरुलाई सहज रुपमा पानीको आपुर्ति हुने गरि काम भईरहेको उनले बताए । ‘कोही पनि प्यासले काकाकुल हुनुपर्ने स्थिति आउँन दिदैनौं । शुद्ध र स्वच्छ खानेपानी उपलब्ध गराउन आयोजक प्रतिवद्ध छ,’ उनले भने ।
उनले महोत्सव स्थललाई आकर्षक पार्ने गरि सरसफाईको काम धमाधम भईरहेको बताए । सरसफाईको काम निरन्तर रुपमा चल्ने बताउँदै उनले भने, ‘सरसफाई तथा स्वच्छ र शुद्ध खानोपानीको व्यवस्थापन आफैमा जटिल विषय हो । स्वयम्सेवक खटाएर यसलाई थप व्यवस्थित बनाउने जमर्को गरिरहेको छु ।’
हाल महोत्सव स्थलमा स्टल, बाउन्ड्र निर्माणको काम धमाधम भईरहेको उनले बताए आयोजकले विभिन्न समिति, उपसमितिमार्फत महोत्सवको तयारीलाई तीब्र बनाएको छ । कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा यही मंसिर १९ गतेदेखि पौष २ गतेसम्म १५ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी हुदैं छ । महोत्सव बाणगंगाको चारनम्बर जीतपुरमा अवस्थित बुद्धरंगशालामा हुन लागेको हो ।