कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले समग्र कपिलवस्तु कै झल्को दिने गरि १५औं कपिलवस्तु महोत्सवको तयारीमा लागेको बताएका छन् । अध्यक्ष क्षेत्रीले यस क्षेत्रका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्दै समग्र जिल्लाको व्यवसायलाई प्रतिबिम्बित गर्ने दाबी गरे । उनले विगतदेखि नै कपिलवस्तु महोत्सव समग्र कपिलवस्तुकै पहिचानका रुपमा स्थापित हुदै आएको बताए ।
महोत्सवले व्यवसायीहरुमा छाएको निरासालाई बदल्ने दाबी गरेका छन् । व्यवसायिक क्षेत्रमा कोरोनाकालदेखि हालसम्म छाएको मन्दीले प्लायन हुने स्थितिमा रहेका व्यवसायीहरुमा महोत्सवले व्यवसायिक आशा जगाउने उनको विश्वास छ । अन्य महोत्सव भन्दा यस महोत्सवलाई पृथक बनाउन व्यवस्थापकिय पक्षलाई विशेष ध्यान दिईने बताए ।
उनले यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थलको संरक्षण तथा प्रवद्र्धन गर्न महोत्सवले महत्वपुर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले महोत्सवमा हस्तकलाको प्रदर्शनसंगै शैक्षिक प्रदर्शनी र कृषि प्रदर्शनी समेत हुने बताए । स्थानीय तथा घरेलु उत्पादनलाई महोत्सवले प्राथमिकता दिदै विशेष छुटसहित स्टल उपलब्ध गराउने प्रयासले सकारात्मक सन्देश प्रवाह हुने उनको भनाई छ ।
यही मंसिर १९ देखि पुष २ गतेसम्म १५ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी हुन लागेको हो । “सक्षम व्यवसायी , समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नारासहित १५औं कपिलवस्तु महोत्सव बाणगंगाको चारनम्बर जीतपुरमा अवस्थित बुद्धरंगशालामा हुदैं छ ।