कपिलवस्तुको शिवराज नगरपालिकामा बिभिन्न उद्योगहरूमा काम गर्ने महिला तथा कर्मचारीहरूलाई यातायात भाडामा ७० प्रतिशतसम्म छुट दिइने भएको छ । नगर प्रमुख अजय थापा र यातायात व्यवसायीबीच भएको लामो छलफलपश्चात यस्तो निर्णय भएको हो ।
शिवराज नगरपालिका घर भएर नगरभित्र जहाँजहाँ कार्यरत भएको भए पनि आवतजावत गर्दा परिचय पत्रको आधारमा उक्त छुट दिइने नगर प्रमुख अजय थापाले बताए ।
उनका अनुसार कृष्णनगर यातायात प्रालि, बुटवल यातायात प्रालि, पश्चिमाञ्चल वस व्यवसायी प्रालि र सजिलो यातायात प्रालिसँग भाडा छुट दिने विषयमा सहमति भएको छ । सहमति बमोजिम अब परिचय पत्र वितरणको कार्य अघि बढ्ने थापाले बताए ।
बिभिन्न उद्योगमा कम गर्ने महिलाको समस्यालाई मध्यनजर गर्दै नगरले गरेको यो निर्णयपछि सयौँ महिला कामदार लाभान्वित हुने अपेक्षा गरिएको छ ।
नगरले महिला दिदीबहिनीको लागि आगामी दिनमा अरु थुप्रै यस्ता योजनाहरू अघि सार्ने मेयर थापाले जानकारी दिए ।