प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा हिन्दु धर्मावलम्बीहरूले श्रद्धा, भक्तिभाव र उल्लासका साथ भगवान् श्रीकृष्णको जन्मदिवस मनाउने गर्दछ। आज पनि संसारभरका कृष्ण भक्तहरूले श्रीकृष्ण जन्माष्टमी पर्व विशेष पूजा आराधना गर्दै मनाइरहेका छन्।
धार्मिक मान्यताअनुसार, शिरमा मयूरको प्वाँख सजाएर, हातमा मुरली समातेका प्यारा भगवान श्रीकृष्णको जन्म आजैको दिन मामा कंशको कैदमा रहेका वासुदेव र देवकीको गर्भबाट भएको थियो।
गोपिनीहरूको मायामा बाँसुरीको मधूर धूनमा रमाउँदै, शितल बगैंचामुनी, जीवजन्तुहरुको साथमा विराजमान मुरलीमनोहर भगवान् श्रीकृष्णलाई गोविन्द, कान्हा, कन्हैया, काले, श्यामसुन्दर, माखनचोर आदि थुप्रै नामले पुकारिने गरिन्छ।
पौराणिक मान्यतामा श्रीकृष्णलाई सम्पूर्ण घटनाको सर्जकका रुपमा सम्झिएर, पूजन र स्मरण गरिन्छ। यस पर्वलाई विभिन्न ठाउँमा सातम आठम, गोकुलाष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा साधारण भाषामा जन्माष्टमीका नामले पनि चिनिन्छ। संसारभरिका मन्दिरहरूमा विशेष पूजा, कीर्तन, प्रवचन तथा भजनसंध्या गरी भगवान् श्रीकृष्णप्रतिको श्रद्धा प्रकट गरिन्छ।
भक्तजनहरू ब्रत बस्ने, झाँकी निकाली नगर परिक्रमा गर्ने, कृष्ण कथा सुन्ने, गाईको पूजा गर्ने लगायतका धार्मिक कार्यमा सहभागी भएर यो पवित्र दिनको विशेष महत्त्व र आनन्द अनुभव गर्दछन्। भगवान् श्रीकृष्णको दिव्य शिक्षाहरूमा प्रेम, भक्ति, धर्म र सत्यको मार्गमा लाग्नुपर्ने सन्देश समावेश भएकाले यो पर्वको विशेष महत्त्व रहेको छ।