काठमाडौं । पशुपति कोटिहोममा रिपोर्टिङका लागि गएका दुई युट्यूवर कुटिएका छन् । कोटिहोम आयोजकका मान्छेहरुले नै आफूमाथि निर्घात कुटपिट गरेको उनीहरूको आरोप छ ।
लोकतन्त्र टाइम्स नामक युट्यूव च्यानल सञ्चालन गर्ने प्रिन्स मिश्र र क्यामरापर्सनसमेत रहेका उनका भाइ अखिल मिश्रमाथि कुटपिट भएको हो । दुवैजनाको टाउकोमा चोट लागेको छ । भारतीय कथावाचक श्रीकृष्ण अनिरुद्रको भिडिओ खिच्ने क्रममा उनीहरुसँग परिचयपत्र मागिएपछि विवाद सुरु भएको थियो ।
प्रिन्सले केही दिनअघि देवी प्रतिभाको पत्रकार सम्मेलनमा आलोचनात्मक प्रश्न सोधेकोमा रिसइवी साँधिएको दाबी गरे । कुट्नेहरू आयोजक संस्थाकै स्वयम्सेवक भएको उनको भनाइ छ । आयोजकले भने कुटपिटको घटनामा आफ्ना स्वयम्सेवक र कर्मचारी संलग्न नरहेको बताएका छन् ।
घटनाको बारेमा प्रिन्सको भनाइ यस्तो छः
मैले सुरुबाट नै दान सचिवालयको बारेमा भिडिओ बनाउँदै आएको छु । देवी प्रतिभाजीको पत्रकार सम्मेलनमा मैले दानको पारदर्शीताको विषयमा प्रश्न उठाएको थिएँ । १२ वटा दान सचिवालय राखेर आर्थिक संकलन गर्नु त व्यापार भएन र गुरु भनेर सोधेको थिएँ । आज मलाई त्यही निहुमा कुटपिट भएको हो ।
हामी भारतीय बाबा अनिरुद्रको भिडिओ खिचिरहेका थियौं । त्यही बेला एकजना मेरो नजिक आएर मलाई धक्का दिन थाल्नुभयो । पछि कार्डको नभएको निहुमा उहाँले त्यहाँबाट धकेल्दै लैजानुभयो । मैले सूचना विभागको कार्ड देखाउँदा ‘यसले हुँदैन, कोटी होमकै कार्ड चाहिन्छ’ भन्नुभयो । त्यसपपछि मैले कार्ड बनाइदिनुस न त भनेँ । अनि उहाँहरुले कार्ड बनाउने ठाउँमा लैजानुभयो । भित्र लगेपछि गालीगलौज गर्ने, धम्की दिने कुराहरु भए । अस्तिको पत्रकार सम्मेलनको भिडिओको स्क्रिनसट देखाएर मेरो कार्डमाथि र ममाथि थुक्नसमेत थाल्नुभयो । त्यत्तिकैमा मेरो भाईलाई एकजनाले थप्पड हाने । मेले रोक्न खोज्दा ममाथि पनि निर्घात कुटपिट भयो ।
प्रहरी त्यहाँ थिएनन् । अरु कसैले पनि हामीलाई कुट्न रोकेनन् । आधिकारिक रूपमा दर्ता भएको सञ्चारमाध्यमको पत्रकारमाथि यसरी कुटपिट हुनु प्रेसमाथिकै आक्रमण हो । म मुद्दा दर्ताको तयारीमा छु ।