कपिलवस्तु जिल्लाका प्रत्येक नागरिकलाई सर्पदंशको उपचार निःशुल्क गरिने भएको छ । बुद्धभूमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठको नेतृत्व तथा जिल्लाका सबै पालिकाको समवन्यमा सर्पको टोकाईबाट हुने विरामीलाई लाग्ने खर्च निःशुल्क हुन लागेको हो ।
बुद्धभूमि नगरपालिकाका मेयर श्रेष्ठको पहलमा गोरुसिङ्गे सर्पदंश उपचार केन्द्रले कपिलवस्तुका १० वटै पालिकाका नागरिकलाई सर्पदंशको निःशुल्क उपचारको व्यवस्था गर्ने प्रक्रिया थालनी भएको हो ।
त्यसैले कपिलवस्तु, शिवराज, वियानगर र शुद्धोधन तथा बुद्धभूमिका नागरिकलाई सर्पदंशको निःशुल्क उपचार गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । गोरुसिङ्गे सर्पदंश उपचार केन्द्रका प्रबन्धक नवीन भण्डारीले बुद्धभूमिका बासिन्दालाई सर्पदंशको निःशुल्क उपचार गर्न मेयर श्रेष्ठसँग पहल गर्दै आउनु भएको थियो ।
त्यसपछि नगरप्रमुख श्रेष्ठले बुद्धभूमिलगायत जिल्लाका १० वटै पालिकाका नागरिकलाई यो सेवा उपलब्ध गराउन आवश्यक रहेको र यसका लागि विशेष पहल गरिएको जानकारी दिनुभयो। यतिबेला निशुल्क उपचारको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
सर्पले टोक्ने परिवारका सदस्य आर्थिक अवस्था कमजोर भएका गरिब, विपन्न परिवार हुने र उनीहरुलाई औषधी किन्न समेत धौधौ पर्ने अवस्था आउने गरेको प्रबन्धक भण्डारीले जानकारी दिनुभयो । उहाँले नगरप्रमुख श्रेष्ठले थालेको यो प्रयासको कार्यान्वयनपछि जिल्लावासी सबैलाई उपचारमा सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
यसैबिच जिल्लाका अन्य पालिकाका प्रमुखहरुले समेत पनि यो पहल कार्यान्वयन गर्न प्रतिबद्ध रहेको र उनीहरूले मेयर श्रेष्ठको यस पहललाई एकदमै नयाँ र सकारात्मक पहलका रुपमा लिएका छन्।