कपिलवस्तुको चन्द्रौटास्थित सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्टमा बुधबारबाट ग्रिन ज्याकपट क्यासिनो सञ्चालनमा आएको छ । भारतीय ग्राहक लक्षित गरेर क्यासिनो सञ्चालनमा ल्याइएको हो । कपिलवस्तुमा सञ्चालनमा आएको यो पहिलो क्यासिनो पनि हो कपिलवस्तुको चन्द्रौटामा ग्रिन च्याकपट क्यासिनो सञ्चालनमा
भारतसित जोडिएको प्रमुख सीमा नाका कृष्णनगरबाट २० किलोमिटर उत्तर चन्द्रौटामा सञ्चालनमा रहेको चारतारे सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्टमा आकर्षक गेमिङ सुविधासहित क्यासिनो सञ्चालनमा आएको हो । यसले अब कृष्णनगर लगायत नाका भएर क्यासिनो खेल्न आउने भारतीय पर्यटकको संख्या उल्लेख्य वृद्धि हुने सञ्चालकले जनाए ।
एक अर्ब रुपैयाँ लगानीमा सञ्चालनमा आएको उक्त रिसोर्टमा आधिकारिक रूपमा बुधबारबाट क्यासिनो पनि सञ्चालनमा आएको हो । प्रत्यक्ष ५ सय र अप्रत्यक्ष एक हजार जनालाई रोजगारी उपलब्ध गराउने गरी १५ करोड रुपैयाँ लगानीमा क्यासिनो सञ्चालनमा ल्याइएको क्यासिनोका अध्यक्ष राजकुमार भट्टराईले जानकारी दिए ।
क्यासिनोका म्यानेजिङ डाइरेन्टर राजीव आचार्यले प्रतिदिन ५ सय भारतीय पर्यटकलाई सेवा दिने गरी क्यासिनो सञ्चालनमा आएको जनाए । चन्द्रौटा र कृष्णनगरलाई पर्यटकीय हबका रूपमा विकास गर्न सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्टले क्यासिनो सञ्चालनमा ल्याएको आचार्यले बताए । यहाँ क्यासिनो सञ्चालनमा आएसँगै कृष्णनगरबाट मुलुक भित्रिने पर्यटकले अब गेमिङका लागि लुम्बिनी, भैरहवा र नेपालगन्ज सहर जानुपर्ने बाध्यता अन्त्य भएको उनले बताए ।