कपिलवस्तुको शिवराज नगरपालिकाले तीन पाङ्ग्रे सवारीसाधान सञ्चालन व्यवस्थापन तथा नियमन सम्बन्धि कार्यविधि, २०८१ जारी गरेको छ । आर्थिक बर्ष २०८१/०८२ को पहिलो नगरकार्यपालिका बैठकले यस सम्बन्धि कार्यविधिलाई स्विकृति गरेको हो ।
नगरको विधेयक समितिदेखि तीन पाङ्ग्रे सवारी चालक, सवारी धनी लगायतसँग विभिन्न चरणमा छलफल पश्चात निर्माण गरिएको कार्यविधिलाई नगरकार्यपालिका बैठकले पास गरेको नगर प्रमुख अजय थापाले जानकारी दिए ।
पछिल्लो समय तीन पाङ्ग्रे सवारी बढिरहेका छन् । यी सवारीलाई नियमन गर्न नसक्दा मनपरी रुटको प्रयोग, अचाक्ली भाडा, दुर्घटनाको जोखिम बढिरहेको बेला शिवराजले कार्यविधि मार्फत व्यवस्थित गर्न लागेको नगर प्रमुख थापाको भनाई छ ।
तीन पाङ्ग्रे सवारीमा विद्युतीय अटो रिक्सा, पेट्रोलियम पदार्थबाट चल्ने अटो रिक्सा र खुट्टाले चलाउने पुरानो रिक्सा पर्छन् ।यस्तै शुक्रबार बसेको कार्यपालिका बैठकले अन्य विभिन्न कार्यविधि तथा निर्देशिका सर्वसम्मत रुपमा पास गरेको छ । जसमा विद्यालय वृत्ति मार्ग–निर्देशन कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका– २०८१, संस्था दर्ता तथा नवीकरण सम्बन्धि कार्यविधि– २०८१, शिवराज नगरपालिकाको स्थानीय रोजगार रणनीति–२०८१, रोजगार संवाद मञ्च ९सञ्चालन तथा व्यवस्थापन० कार्यविधि–२०८१, मानव बेचविखन तथा ओसारपसार नियन्त्रण समिति ९गठन तथा परिचालन० कार्यविधि–२०८१ लगायत रहेका छन् ।
बैठकमा गत आव ०८०/०८१ को आय व्यय सम्बन्धिको विवरण नगरपालिकाका लेखा शाखा प्रमुख रामचन्द्र मरासिनीले पेश गरेका थिए । यस्तै नगर शिक्षा योजना निर्माण र सो को लागि कार्यदल गठन गरिएको छ । जसको संयोजकमा नगर प्रमुख अजय थापा रहेका छन् ।
बैठकमा करार कर्मचारी व्यवस्थापनदेखि गत आवमा सम्पन्न नभएका, कार्य सम्पन्न भएपनि भुक्तानी नभएका योजनाका बारेमा पनि छलफल भएको थियो ।