लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको सञ्चार सम्बन्धी बजेटप्रति लुम्विनी प्रदेशका सञ्चारगृह सम्वद्ध संस्थाहरुले आन्दोलन घोषणा गरेका छन् । मिडियालाई व्यक्तिगत पहुँच र प्रभावको आधारमा घर निर्माण र उपकरण खरिदजस्ता शीर्षकमा आफ्नो खल्तीको रकम छुट्टाएजस्तो गरी छुट्टाइनु तथा प्रदेशमा लामो समयदेखि व्यवसायिक पत्रकारिता गर्दै आएका मिडियाहरुलाई पूर्णरुपमा उपेक्षा गरी लोक कल्याणकारी विज्ञापन र सूचनाका लागि बजेट रकम घटाउँदै लैजाने कार्य मिडिया विरोधी भएको भन्दै सञ्चारगृह सम्वद्ध संस्थाहरुले विरोध जनाउँदै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
शुक्रबार लुम्विनी प्रदेशका सञ्चारगृह सम्वद्ध संस्थाहरु प्रकाशक तथा प्रशारण संघ, लुम्बिनी, नेपाल टेलिभिजन प्रसारक संघ, लुम्बिनी, ब्रोकाष्टिङ एशोसिएसन अफ नेपाल बान, एलायन्स फर कम्युनिटी मिडिया, सामुदायिक रेडियो प्रशारक संघ अकोराव र अनलाइन मिडिया सोसाइटीको संयुक्त बैठक बसी प्रदेशका मन्त्रिहरुको कार्यक्रम तथा समाचार बहिस्कार गर्नेसम्मको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । विरोधको पहिलो दिन असार ८ गते आन्तरिक मामिला तथा कानून मन्त्रीसंग छलफल तथा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको प्रकाशन तथा प्रसारण संघ लुम्बिनीका अध्यक्ष नवराज कुँवरले बताए ।
यस्तै असार ९ गते सबै दलका संसदीय दलका प्रमुख सचेतकहरुको ध्यानाकर्षण गराउने र प्रदेश राजधानी देखुरी दाङमा प्रदेशसभा सचिवालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि धर्ना र उपकरण प्रदर्शन गर्ने, असार १० गतेदेखि प्रदेशका मन्त्रिहरुको कार्यक्रम तथा समाचार बहिस्कार गर्ने तथा सञ्चारगृहहरुका सञ्चालक, कार्यरत पत्रकार, कर्मचारीहरु र कामदारहरुले कालोपट्टी बाँध्ने र असार ११ गतेदेखि विरोध स्वरुप लुम्बिनी प्रदेशबाट प्रकाशित प्रसारित हुने सञ्चार माध्यमले सम्पादकीयमा कालो पोत्ने कार्यक्रम तय भएको अध्यक्ष कुँवरले बताए ।