देशका लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका केही ठाउँमा अत्यधिक गर्मी कायमै छ । ती क्षेत्रमा विगत केही दिनदेखि नै अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन गरिएको छ । आज र भोलि पनि पश्चिम तराई क्षेत्रमा मौसम सफा रहने अनुमान छ । मौसम सफा हुँदा अत्यधिक गर्मीको सम्भावना कायमै रहेको, केही दिनदेखि तातो हावा चलेको हुँदा आवश्यक तयारी तथा सतर्कता अपनाउन मौसमविद्को सल्लाह छ ।
कृषि मौसम सल्लाह बुलेटिनकाअनुसार देशका पश्चिमी क्षेत्र लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रमा यो हप्ताभरी नै पानी पर्ने सम्भावना निक्कै कम छ । अर्थात् आजदेखि आउँदो बिहीवारसम्म पश्चिम तराईमा पानी पर्ने सम्भावना कम छ । हप्ताको मध्य र अन्तिमतिर गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका एकरदुई ठाउँमा साथै कोशी, मधेश र बाग्मतीको थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका पहाडी क्षेत्रमा थोरै ठाउँमा भने यो हप्ता पनि मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने सम्भावना छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशसहित पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी र बाग्मतीका थोरै ठाउँ तथा बाँकी पहाडी भागका एकरदुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको उत्तर प्रदेशदेखि बङ्गगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ । यसपाली मनसुनमा भने सरदर भन्दा धेरै वर्षाको सम्भावना छ ।