समाज परिवर्तनको लागि शिक्षा र शिक्षकको भुमिका महत्वपुर्ण हुने जिल्ला समन्वय समिती संयोजक बाबुराम आचार्यले बताउनुभएको छ । समाजको सबैभन्दा अग्र पङ्क्तिमा रहने शिक्षकले नै समाजलाई डोर्याउन सक्ने उहाँले बताउनुभयो । शनिवार नेपाल शिक्षक महासंघ कपिलवस्तुले आयोजना गरेको पदभार ग्रहण, प्रमाण पत्र वितरण भित्तेपात्रो विमोचन र उत्प्रेरणात्मक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । शिक्षकहरुलाई गतिशील बनाउनको लागि विभिन्न तालिमहरुको आवश्यक रहेको पनि उहाँले बताउनुभयो । शिक्षकले बाटो बिराउदा लाखौ बालबालिकाको भविष्य अन्धकार हुने भएकाले आफ्नो पेशा प्रति इमानदार बन्न पनि उहाँले शिक्षक वर्गलाई आग्रह गर्नुभयो ।
त्यस्तै बाणगङ्गा नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जि।सी। ले स्थानीय सरकारमा शिक्षा सञ्चालनको अधिकार आइसकेपछि शिक्षाको गुणस्तर वृद्धि भएको बताउनुभयो । महासंघमा आबद्ध शिक्षकहरुले शिक्षाको गुणस्तर वृद्धि गर्न स्थानीय सरकारले गर्नुपर्ने काम, आफ्ना समस्या लगायतका कुरा पालिकामा आएर राख्न पनि आग्रह गर्नुभयो । नेपाल शिक्षक महासंघ कपिलवस्तुका अध्यक्ष गोविन्द पोख्रेलले महासंघले विशुद्ध शिक्षकहरुको क्षमता विकास गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले नै यस्ता कार्यक्रम आयोजना गरेको बताउनुभयो । शिक्षणको पेशागत विकासको लागि तिनै तहका सरकार र विभिन्न संघ संस्था सङ्ग सहकार्य गर्ने बताउनुभयो । शिक्षकहरुका अधिकारलाई सुनिश्चित गर्नको लागि महासंघ डटेर अगाडि बढ्ने पनि उहाँले जिकिर गर्नुभयो ।
नवनियुक्त शिक्षकहरुलाइ सम्मान तथा महासंघको जिल्ला कार्यसमितिको पदभार ग्रहण समेत रहेको कार्यक्रममा २०८१ सालको भित्तेपात्रो विमोचन पनि गरिएको थियो । महासंघका पदाधिकारी, जिल्लाका सामुदायिक विद्यालयहरुका शिक्षक लगायत गरि करिब डेढ सयको उपस्थिती रहेको कार्यक्रममा अन्तरष्ट्रिय प्रशिक्षक ऋषि न्यौपानेले प्रशिक्षण समेत गर्नुभएको थियो । कार्यक्रम महासंघका जिल्ला अध्यक्ष गोविन्द पोख्रेलको अध्यक्षता, सचिव रविलाल घिमिरेको सञ्चालन तथा सह अध्यक्ष देवराज पाण्डेको स्वागतमा सम्पन्न भएको थियो ।