लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री दिनेश पन्थीले आगलागी पीडितसमक्ष राहत पुर्याउन प्रदेश सरकार प्रतिबद्ध भएर लागेको बताउनु भएको छ । तत्कालका लागि अस्थायी आवास निर्माण गर्न आवश्यक सहयोग पीडितसम्म पठाउन लागि परेको बताउनुभयो । सोमबार जिल्लाको रामपुर नगरपालिका ४ र ५ का आगलागी प्रभावित टोलमा पुग्नु भएका पन्थीले तीनै तहको सरकार साथमा रहेको भन्दै अग्निपीडित परिवारलाई नआत्तिन आग्रह गर्नुभयो ।
स्थानीय सरकारहरू पीडितहरूको राहत व्यवस्थापनका लागि खटिरहेको अवस्थामा प्रदेश सरकार साथमा छ है भन्ने अनुभूति दिलाउन निरीक्षणमा खटिएको बताउनुभयो । राहतको प्रक्रियालाई छिटो पूरा गर्न सरकारी संयन्त्रलाई परिचालन गरिएको जानकारी दिनुभयो ।तत्कालका लागि अस्थायी बसोबासको व्यवस्था गर्ने र स्थायी सुरक्षित बसोबासका लागि केही समय लाग्ने भए पनि छिटो उपलब्ध गराउन पहल भइरहेको बताउनुभयो । प्रदेश सरकारले तत्कालको लागि ५० हजार राहत उपलब्ध गराउने जानकारी दिनुभयो ।
मन्त्री पन्थीसँगै लुम्बिनी प्रदेश सभा सदस्य एवम् अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठ, लुम्बिनी प्रदेश सभा सदस्य खेम बहादुर सारुसहितको उपस्थिति रहेको थियो । रामपुर नगरपालिका–५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले अग्निपीडित परिवारको राहत र व्यवस्थापनका लागि नगरपालिकाको तर्फ बाट भएका कार्यहरूको बारेमा जानकारी गराउनु भएको थियो । जङ्गलबाट आएको डढेलो बस्तीमा पसेपछि वैशाख १९ गते रामपुर नगरपालिका ४ र ५ को पाँच वटा घर, आठ वटा गोठमा क्षति भएको थियो ।