आठौँ संस्करणको राष्ट्रिय भलिबल च्याम्पियनशिपमा पुरुषतर्फ हेल्प नेपाल फाइनलमा पुगेको छ । आज भएको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै हेल्प नेपाल फाइनलमा पुगेको हो । अब साविक विजेता टोली हेल्प नेपालले उपाधिका लागि दोस्रो सेमिफाइनल खेलको बिजेतासँग खेल्नेछ ।
दोस्रो सेमिफाइनलमा दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब खेल्दैछन् । महिलातर्फ सशस्त्र प्रहरी बलको एपीएफ क्लब तेस्रो भएको छ । आज भएको खेलमा न्यू डायमण्ड महिला टोलीलाई ३–१ को सेटमा हराउँदै एपीएफ तेस्रो भएको हो । महिलातर्फको उपाधिका लागि भोली विभागीय क्लब नेपाल पुलिस र एभरेस्ट भलिबल क्लब बुटवलबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले पाँच लाख, उपविजेताले दुई लाख र तेस्रो हुने टोलीले एक लाख २५ हजार रुपैयाँ पाउनेछ ।