अर्थमन्त्री वर्षमान पुन र विश्व बैंकका तीनजना उपाध्यक्षबीच नेपालका ठूला पूर्वाधार आयोजनाबारे छलफल भएको छ । अर्थमन्त्री पुन र विश्व बैंकका उपाध्यक्ष मार्टिन रेजर, आकीहीको नीसीओ र ग्वान्झे चेनबीच भर्चुअल माध्यममार्फत छलफल भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।
सचिवालयकाअनुसार मुख्यगरी नेपाल र विश्व बैंकबीचको आउँदो पाँच वर्षका लागि साझेदारी खाका निर्माण तथा माथिल्लो अरुण जलविद्युत् आयोजना र दूधकोशी जलाशययुक्त आयोजना अगाडि बढाउने विषयमा छलफल भएको हो । छलफलमा अर्थसचिव कृष्णहरि पुष्कर, राजस्व सचिव रामप्रसाद घिमिरे, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एसियाली विकास बैंक एडीबीका नेपाल निर्देशक आर्नो कोस्वा र अन्तर्राष्ट्रिय वित्त निगम आइएफसी का प्रतिनिधिलगायत सहभागी थिए ।
रुपान्तरणकारी परियोजनाका रुपमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार ६१ मेगावाटको अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनाबारे छलफल भएको छ । यो आयोजनाको विस्तृत आयोजना प्रतिवेदन डीपीआर निर्माण भई परामर्शदातासमेत छनोट भैसकेको छ ।
आयोजनाका लागि विश्व बैंकको नेतृत्वमा वित्तीय व्यवस्थापनको टुङ्गो आउँदो असारभित्रै लगाउने तयारी छ । आयोजनाको अनुमानित लागत एक अर्ब ३८ करोड अमेरिकी डलर छ । यसमा ७० प्रतिशत विदेशी र ३० प्रतिशत स्वदेशी लगानी रहने ढाँचा तयार गरिएको छ ।