कपिलवस्तुको बाणगंगा नगरपालिका भित्र अवैधानिक रुपमा संचालनमा रहेका व्यवसायलाई निषेध गरिने भएको छ । नगरपालिकाका जनप्रतिनिधि, कपिलवस्तु उद्योग बाणिज्य संघका पदाधिकारी, सुरक्षा निकायको सोमबार नगरपालिकामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
नगरपालिमा दर्ता नै नभई अवैधानिक रुपमा संचालनमा रहदैं आएका व्यवसायलाई वैधानिकतापूर्वक व्यवसाय गर्न १५ दिने सुचना जारी गर्ने समेत बैठकले निर्णय गरेको नगरप्रमुख चक्रपाणी अर्यालले जानकारी दिए । उनले त्यसरी व्यवसाय गर्दै आएका व्यवसायीलाई दर्ता प्रक्रियामा ल्याउन दबाब सिर्जना गर्ने बताए । उनले नगरपालिकाका सिमाक्षेत्रका विभिन्न स्थानहरुमा अवैधानिक व्यवसायलाई निरुत्साहित गर्न बोर्डहरु लगाईने बताए ।
कपिलवस्तु उद्योग बाणिज्यका अध्यक्ष गणेश बहादुर क्षेत्रीले अवैधानिक रुपमा संचालन हुने व्यवसायलाई नियन्त्रण गर्न बाणगंगा नगरपालिका, कपिलवस्तु उद्योग बाणिज्य संघ, सम्बन्धित वडाका जनप्रतिनिधि, सुरक्षा निकाय, संचारकर्मीसहितको संयुक्त बजार अनुगमन तथा हाटबजार अनुगमन गर्ने निर्णय भएको बताए । उनले उक्त बैठकमा समग्र व्यवसायलाई व्यवस्थित गर्न सम्पूर्ण सरोकारवालाहरुले समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएको जानकारी दिए ।