महोत्तरीको बर्दिबास नगर क्षेत्रमा उमेर पुगेर बिहे गर्ने मुसहर जाति समुदायका दम्पतीले ५० हजार रुपैयाँ पाउने भएका छन् । आज बर्दिबास–१४ को नमुना मुसहर बस्तीमा एक सय आठ जनाको लघुजीवन बीमा गराएपछि बर्दिवास नगरपालिकाका मेयर प्रह्लादकुमार क्षेत्रीले यो प्रोत्साहन रकम घोषणा गर्नुभएको हो । नगर क्षेत्रभित्रका स्थायीवासी मुसहर पुरुष–महिला दुवैलाई यो रकम उपलब्ध गराइने मेयर क्षेत्रीको भनाइ छ । २० वर्ष नपुगी विवाह गर्न नपाइने व्यवस्था भए पनि मुसहर बस्तीमा बालविवाह भने यथावत् नै छ ।
नगरपालिकाले बीमा गरिदिँदा स्थानीय सरकारबाट सहयोग पाइने आशा जागेको बस्तीकी ५८ वर्षीया मानकी सदाले बताउनुभयो । त्यही बस्तीका ६६ वर्षीय सुकेश्वर सदा र २२ वर्षीया निशा सदाले लघुजीवन बीमा गरिदिएकोमा खुशी व्यक्त गर्नुभयो । मुसहर बस्तीकी ५७ वर्षीया रजिया सदाले आफ्ना नातिनातिनालाई २० वर्ष उमेर कटाएर मात्र बिहे गर्न सल्लाह दिने बताउनुभयो । बर्दिबास–१४ को नमुना मुसहर बस्ती धुर्मुस सुन्तली फाउन्डेशनले बनाएर ५२ मुसहर परिवारलाई २०७४ साल वैशाख १ गते हस्तान्तरण गरेको थियो ।