कपिलवस्तुको यशोधरा गाउँपालिकाले विद्यार्थीलाई लोकसेवा आयोगको तयारी कक्षा पढाउने भएको छ । चालु आवको स्वीकृत वार्षिक योजना तथा कार्यक्रम मार्फत् विद्यार्थीलाई सहायक स्तर चौथो र पाँचौ तह प्रशासन तहको तयारी गराउन लागेको हो । गाउँपलिकाका १ देखि ८ नम्बर वडाका सबै विद्यार्थीलाई छनोट गरेर आयोगको तयारी कक्षा पढाउन लागेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा ३५ देखि ४० जना विद्यार्थीलाई अध्ययन गराउन लागेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष शिवदयाल तिवारीले आउने लोकसेवाको परीक्षालाई लक्षित गरी ६० दिने लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाएको बताए । कर्मचारीको अभाव रहेको अवस्थामा यो कार्यक्रमले धेरै राहत प्रदान गर्ने विश्वास लिएको वताएका छन । जिल्लाको सिमावर्ती क्षेत्रमा अवस्थित यशोधरा गाउँपालिकाले गाउँपालिकाभित्र स्थायी बसोबास भएका महिला, दलित, मुस्लिम, विपन्न, अपांगता भएका ब्यक्तिहरुका लागि लोकसेवाप्रति आकर्षण बढाउन र परीक्षामा सक्षम बनाउन तयारी कक्षा सञ्चालन गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकालले बताए ।
गत आव ०७९÷८० मा यशोधरा गाउँपालिकाबाट निःशुल्क लोकसेवा आयोग तयारी कक्षा लिएका प्रशिक्षार्थीहरु तथा कुनै सरकारी पदमा कार्यरत रहेका प्रशिक्षार्थीहरु भन्दा नयाँ प्रशिक्षार्थीहरुलाई प्राथमिकता दिइएको ढकाल बताउँछन् । आउँदो चैत्र ७ गतेदेखि सुरु हुने तयारी कक्षाका लागि प्राथमिकताका आधारमा गाउँपालिकाले चौथो तह प्रशासन सेवाका लागि ४० जना प्रशिक्षार्थी छनौट गरेको छ । थप ७ जना बैकल्पिक प्रशिक्षार्थीका रुपमा छनौट समेत गरेको छ ।