कपिलवस्तु जिल्लाकै पहिलो डायलाइसिस सेवा बाणगंगाबाट सञ्चालनमा आएको छ । मृगौलाका विरामीका लागि सुरु गरिएको यो सेवा कपिलवस्तुमै पहिलो रहेको छ । रोटरी क्लब सेन्ट्रल बुटवल र रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुको सहयोगमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको शाखाको रुपमा कपिलवस्तु सामुदायिक डाइलाइसिस सेन्टर सञ्चालनमा आएको हो ।
बाणगंगा १ मा रहेको जेसिज भवनमा सुरु गरिएको छ । मृगौला रोग लागेमा यो रोगको विकल्प भनेको डाइलाइसिस हो । डाइलाइसिस भनेको हाम्रो शरीरको अति नै महत्वपूर्ण अङ्ग मृगौला बिग्रिएमा वा मृगौलाले काम नगरेको अवस्थामा मेसिनको माध्यमबाट हाम्रो शरीरमा रहेका विकार वस्तु फाल्ने काम डाइलाइसिस हो भनि चिकित्सकले वताएका छन ।
सोमबार यसको परिक्षण गरिएको छ । ट्रायल फेजमा रुपमा चार जना बिरामीलाई राखेर प्रशिक्षण गरिएको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल डाइलाइसिस सुपरभाइजर विमल भुसालले जानकारी दिए । उनले यो परीक्षणको रिर्पोट सरकारमा पठाएर सरकारबाट स्वीकृत पाएमा निरन्तर रुपमा सेवासुविधा प्रदान गरिने बताए ।
यस्तै गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका प्रमुख प्रशासकीय अधिकृत कमल भण्डारीले कपिलवस्तु सामुदायिक डाइलाइसिस सेन्टरको ट्रायल परिक्षण सेवा अबको हप्ता दश दिनमा सरकारबाट अनुमति पाउन साथ यो सेवा निरन्तर रुपमा प्रदान गर्ने बताए ।
उनले खासगरी यो सेवा अर्घाखाँची र कपिलवस्तुका मृगौला सम्बन्धित बिरामीलाई मध्यनजर गर्दै कपिलवस्तुमा सञ्चालन गरिएको बताए । साथै उनले बिरामीलाई बुटवल जादा लाग्ने समय र खर्च पनि बचत हुने जानकारी दिए ।