कपिलवस्तुको बाणगंगा नगरपालिकाले नगरको लोगो छनोट गरेको छ । आईतबार बसेको कार्यपालिका बैठकले प्रकाश घिमिरेले निर्माण गरेको लागो छनोट गरेको नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले जानकारी दिए । बाणगंगा नगरपालिकाले नगरपालिकाको लागो निर्माणका लागी सार्वजनिक अपिल गर्दै सहभागी हुन आह्वान गरेको थियो ।
जसमा ३२ जनाले डिजाईन प्रस्तुत गरेका थिए । बैठकले नव प्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि नगरप्रमुख चक्रपाणी अर्यालको अध्यक्षतामा स्थानीय संवाद समिति गठन गरेको प्रवक्ता पौडेलले जानकारी दिए । उनले यस कार्यक्रमले गरिब, विपन्न, महिला तथा आर्थिक अवस्था कमजोर भएकाहरुलाई रोजगारीको सम्भावना सिर्जना गर्ने बताए । संघको एक करोड र नगरपालिकाको ३० लाख गरि जम्मा एक करोड ३० लाख रुपैयाँ यस कार्यक्रमका लागी विनियोजन भएको उनले जानकारी दिए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत माघमा नव प्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि देशभरबाट १०४ वटा स्थानीय तह छनोट गरेको थियो । जहाँ कपिलवस्तुका १० स्थानीय तहमध्ये बाणगंगा नगरपालिका मात्र छनोट भएको थियो । नव प्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०८० बमोजिम आर्थिक वर्ष २०८०÷०८१ को कार्यक्रम सञ्चालनका लागि आवेदन दिने स्थानीय तहहरूमध्ये तोकिएको योग्यता र आधार पुरा गरेका स्थानीय तहहरूलाई मन्त्रालयले छनोट गरेको हो । उनले आर्थिक बर्ष २०८०÷८१ का योजनाहरु तीब्र गतिमा अघि बढाउने बैठकले निर्णय गरेको बताए ।
वाणगङ्गा नगरको छनौटमा परेको उत्कृष्ट लोगोको के छन् त विशेषता
१। बाणगङ्गाको नाम सहित जोडिएको बाणगङ्गा नदी
२। बाणगङ्गा नगरपालिकाले पहिचान गरेको नारा
३। बाणगङ्गाको क्षेत्रमा रहेको पुर्व पश्चिम जोड्ने महेन्द्र राजमार्ग
४। सामाजिक समावेशीकरण र महिला पुरुषको समान सहभागिताको संकेत महिला पुरुषको हात
५। बाणगङ्गा नगरपालिकाको ११ वटै वडाहरुको संकेत गरिएको नक्सा
६। बाणगङ्गा नगरपालिकाको महत्वपूर्ण खेती धान, गहुँ, तोरी, मकै सुर्यमुखीको संकेत
७। नेपालको नक्सा, राष्ट्रिय झण्डा र प्रदेशको नाम समेत समेटिएको
८। बाणगङ्गाको व्यवस्थित तथा व्यवसायीक र आवास क्षेत्रको संकेत
९। बाणगङ्गा नगरपालिकाको ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्रको संकेत
१०। बाणगङ्गा नगरपालिकाको उर्वरभूमि
११। थारू संस्कृति झल्कने ढकियाको संकेत
१२। बाणगङ्गा ऐतिहासिक पर्यटकीय क्षेत्रको प्रतिनिधित्व गर्ने पार्क
१३। बाणगङ्गा नगरपालिकाको महत्वपूर्ण सामुदायिक वन तथा राष्ट्रिय वन क्षेत्रको संकेत