रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ मा पर्ने पुरातात्त्विक स्थल पैसिया संरक्षणको पर्खाइमा छ। हालसम्म भेटिएको भग्नावशेषको आधारमा पैसियालाई गुप्तकालीन महत्त्वपूर्ण स्थान हुनसक्ने अनुमान छ। सन् १९६४ पछि सो स्थलमा कुनै पनि पुरातात्त्विक गतिविधि नभएको विज्ञहरू बताउँछन्।
सो स्थानमा पुराना पैसाहरू पाइने भएकोले त्यसलाई पैसिया भनिएको हो। पैसिया गाउँमा मुख्यतया तीनवटा ठूला–ठूला ढिस्का छन्। सन् १९६१ मा कपिलवस्तुको उत्खनन गर्न आउनुभएकी भारतीय पुरातत्त्वविद् देवला मित्राले पैसियाको अन्वेषण गर्नुभएको थियो।
पछि सन् १९६४ मा त्यहाँको मन्दिरको ढिस्कोमाथिबाट उत्खनन गरिएको थियो। सोको उत्खनन सन्तराम बालाचन्द्र (एस वी) देवले गर्नुभएको थियो। देव इन्डियन को–अपरेसन मिसनका तर्फबाट नेपालमा उत्खनन गर्न आउनुभएको थियो। ढिस्काहरूमध्ये एउटा १२ फिट अग्लो मन्दिरको अवशेषयुक्त ढिस्काको उत्खनन गरिएको थियो। उत्खननबाट दुईवटा समतल आँगन र चारवटा मन्दिरका अवशेष प्राप्त भएका थिए।
उत्खननमा सबैभन्दा तल एउटा समतल आँगन र सो क्षेत्र २७ ह २० फिट रहेको छ। त्यसमा १६ इन्च लम्बाइ, १२ इन्च चौडाइ र १२ इन्च उचाइको भएको पोलिएको इँटा प्रयोग गरिएको छ। समतल आँगनमा प्रयोग गरिएको इँटामा ब्राह्मी लिपिका अक्षर पनि अङ्कित गरिएका छन्। समतल आँगनमाथि मन्दिरका भग्नावशेष, खैरो रङ्गका कडा माटो र इँटाहरू बिछ्याएर यी मन्दिरको जग बनाइएको देखिन्छ । मन्दिरको तहमा उत्खननका क्रममा माटाका मूर्तिका केही खेलौना भेटिएको पुरातत्त्वविद्हरू बताउँछन्। स्थानीयका अनुसार पैसिया क्षेत्र एक जना व्यक्तिको जग्गामा रहेको स्थल हो। मन्दिरका लागि चाहिँ सानो क्षेत्र छुट्याइएको छ।
उत्खननका क्रममा भेटिएका मूर्तिका टुक्रा हिन्दु धर्मसँग सम्बन्धित रहेको लुम्बिनी विकास कोषका पूर्वपुरातत्त्वविद् वसन्त बिडारीले बताउनुभयो।
उहाँले भन्नुभयो, “त्यहाँ पर्वती, महादेव, शिवलिङ्गलगायतका मूर्तिका टुक्रा प्राप्त भएको र यसले एउटा महत्त्वपूर्ण हिन्दुस्थल भएको देखाउँछ।”
अहिले सो क्षेत्रमा दुईवटै प्राचीन भग्नावशेषमाथि मन्दिरहरू बनेको र नयाँ मन्दिरहरूको प्राचीन मूर्तिका टुक्रा राखेर पूजा गर्ने गरेको बताइएको छ। यद्यपि यहाँ पाइएको आवशेषबाट पैसिया लुम्बिनी एकअर्कासँग जोडिएको स्थल भएको पुरातत्त्वविद् बिडारीले बताउनुभयो।
बुद्धको जन्मस्थल लुम्बिनीदेखि करिब पाँच किलोमिटर दक्षिणमा अवस्थित पैसिया एउटा महत्वपूर्ण पुरातात्त्विक स्थल रहेको पुरातत्त्व विभागका पुरातत्त्व अधिकृत भाष्कर ज्ञवालीले बताउनुभयो। यस क्षेत्रको सन् १९६४ मा एस वी देवले उत्खनन गरेर गुप्तकालीन इँटाबाट बनेको मन्दिरको भग्नावशेष रहेको प्रतिवेदनमा उल्लेख गरेको उहाँले बताउनुभयो।
उहाँले भन्नुभयो, “त्यसयता पुरातत्त्व विभागलगायतका कुनै पनि निकायले थप संरक्षण र उत्खननको कार्य गर्न सकेका छैनन्।” अब पैसियाको नक्साङ्कन, ड्रोन फोटोग्राफी, भूभौतिक सर्वेक्षण गर्ने र थप उत्खनन गरी संरक्षण गर्ने योजना पुरातत्व विभागले बनाइरहेको अधिकृत ज्ञवालीले बताउनुभयो।
पैसियाका भग्नावशेष मन्दिरको भग्नावशेष हुन्। त्यसमध्ये मुख्य ढिस्कोको भग्नावशेष चाहिँ विभिन्न युगमा बनेका मन्दिरको अवशेष हो। वर्तमानमा कुनै मन्दिर जीवित नरहेको उक्त स्थानमा सन् १९६४ मा उत्खनन गरी दुईवटा युगका आँगन (प्लेटफर्म) र तीनवटा युगका मन्दिर अवशेषहरू प्रकाशमा ल्याइएका छन्।