पत्रकार महिलाले आफूहरूको काम गर्ने शैलीमा निखारता ल्याउन स्थानीय निकायले चासो राखेकोमा खुसी व्यक्त गरेका छन् । तानसेन नगरपालिकाको आयोजना तथा सञ्चारीका समूह नेपाल पाल्पा शाखाको समन्वयमा भएको कार्यक्रममा पत्रकार महिलाले महिला पत्रकारलाई स्थापित गर्न तानसेन नगरपालिकाले खेलेको भूमिका सह्रानीय रहेको बताएका थिए ।
कार्यक्रममा तानसेन नगरपालिकाका कार्यवाहक प्रमुख यादवसिंह कार्कीले पत्रकार महिलाको क्षमता अभिवृद्धिका लागि तीन दिने तालिम तथा मेन्टरिङले पत्रकार महिलाको लेखन शैलीमा थप सहयोग पुग्ने बताउनुभयो ।
महिलाको समस्या महिला मात्रैको होकि भन्ने हिसाबले काम भइरहेको अवस्थामा पत्रकार महिला दक्ष बनाउन तालिमले केही सहयोग पुग्ने अपेक्षाले तालिमको आयोजना गरिएको बताउनुभयो ।
कार्कीले नगरपालिकाले महिलाको वृत्ति विकासका लागि आफूहरूले सक्दो सहयोग गर्ने बताउनुभयो । पत्रकार पुरुषको तुलनामा पत्रकार महिलाको अवस्था दयनीय रहेकाले आफूहरूले स्तरोन्नतिका लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
तानसेन नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले पत्रकारले आफूले लेख्ने शैलीमा परिवर्तन ल्याउन पर्ने बताउनुभयो । उहाँले पछिल्लो समय पत्रकार महिला पत्रकारितामा आउन खोजे पनि स्थापित हुन नसकेकाले चुनौतीलाई पत्रकारिता तालिमले सहयोग पुग्ने बताउनुभयो । पत्रकार तथा प्रशिक्षक किरण कौशलले तीन दिनको अवधिमा पाल्पाका महिला पत्रकारको अवस्था र यहाँका समाचारका स्रोतको बारेमा जानकारी दिनुभयो । महिला पत्रकारलाई चुनौती रहेको बताउँदै यस्तो तालिमले सूक्ष्म विषय पहिचान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।