लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री विष्णु पन्थीले अस्पतालहरूले बिरामीलाई भरोसा दिलाउन सक्नेगरी उपचार गर्नुपर्ने बताउनुभएको छ ।
बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको ११३ औँ वार्षिक उत्सवको मूल समारोहमा बोल्दै स्वास्थ्यमन्त्री पन्थीले प्रदेशको सबैभन्दा महत्त्वपूर्ण अस्पताललाई विशिष्टीकृत अस्पताल बनाउनुपर्ने बताउनुभयो ।
गुरुयोजना अनुसार नै अस्पतालको स्तरोन्नति हुने जानकारी दिँदै १० तले आधुनिक भवन निर्माणको लागि रोकिएको ठेक्का प्रक्रिया सुरुवात गर्ने समेत आश्वासन दिनुभयो ।
आर्थिक राजधानीको लागि अस्पताल कोसेढुङ्गा भएको भन्दै विपतमा तुरुन्त उपचार पाइन्छ, बाँच्न सकिन्छ भन्ने भरोसा दिलाउन सक्नेगरी अस्पताल विकास हुनुपर्ने धारणा राख्नुभयो ।
पूर्व स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले अप्ठ्यारो अवस्थामा अस्पतालले स्वास्थ्य सङ्कटमा ठूलो योगदान दिएको बताउनुभयो । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले कोभिडमा अस्पतालले दिएको सुविधा राम्रो रहेको भन्दै एमडी कार्यक्रम सञ्चालन गर्ने कार्यक्रममा सहयोग रहने बताउनुभयो ।
कार्यक्रममा अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। ज्ञानहरी मरासिनीले बिरामीको चाँपअनुसार अस्पतालको भौतिक पूर्वाधार अभाव रहेको बताउनुभयो ।
कार्यक्रममा पूर्व अध्यक्षहरूबाट बाबुराम भट्टराई, नेकपा माओवादी केन्द्रका रुपन्देही इन्चार्ज निर्मल जिसी, पूर्व मेडिकल सुपरिटेन्टेन्ट डा। राजेन्द्र खनाल, पत्रकार महासङ्घ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्कालगायतले अस्पतालमा राजनीति गर्न नहुने बताउनुभयो ।
सो कार्यक्रममा सेवा निवृत्त कर्मचारी विश्वनाथ गौतम, कृष्णप्रसाद सापकोटा, युगकुमारी खनाललगायतलाई सम्मान गरिएको थियो ।