४१औँ मगर एकता दिवसका अवसरमा पाल्पाका सबै पालिकाहरुले आज सार्वजनिक बिदा दिएका छन् ।
दिवसको अवसरमा तानसेन र रामपुर नगरपालिका, निस्दी गाउँपालिका, माथागढी गाउँपालिका, तिनाउ, बगनासकाली, रैनादेवी छहरा, रम्भा, रिब्दीकोट, पूर्वखोला गाउँपालिकाले बिदा दिएका हुन्।
दिवसको अवसरमा पाल्पाका सबै पालिकामा विविध कार्यक्रमको आयोजना गरिएको नेपाल मगर सङ्घ, पाल्पाका अध्यक्ष तेजबहादुर घर्ती मगरले जानकारी दिनुभयो।
प्रायजसो पालिकाले बजेट नै विनियोजन गरेर मगर एकता दिवस मनाउने गरेको अध्यक्ष घर्तीले बताउनुभयो । जातीय कलासंस्कृतिको जगेर्ना, मगरी खाना, मगरी भेषभुषा आदिको प्रदर्शन हुने नेपाल मगर सङ्घले जनाएको छ।
मगर संस्कृतिमा आधारित कला, भाषा, भेषभुषाको संरक्षण एवम् सवर्द्धन गर्ने उद्देश्यका दिवस मनाउने गरिएको हो। मगर समुदायमा प्रचलित झ्याउरे, सालैजो, कृष्ण चरित्र ठूलो नाच, ठाडो भाका, यानीमाया लगायतका विभिन्न झाँकीको प्रस्तुति गर्ने समेत कार्यक्रम रहेको सङ्घले जनाएको छ।