बाँकेको डुडुवा गाउँपालिका–६ स्थित जयेन्दु बाल सुधार गृहबाट भागेका चार जना आइतबार पक्राउ परेका छन् ।जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका उनीहरू भेल्टिलेटरको ग्रिलको नट तोडेर बुधबार भागेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले फरार रहेका चारै जनालाई प्यूठानबाट नियन्त्रणमा लिइएको बताए । उनीहरू यसअघि पनि सुधार गृहमा विभिन्न बदमासी काममा संलग्न रहेको जनाइएको छ ।
कुटपिट तथा तोडफोडका घटना संलग्न रहँदै आएका थिए । त्यसपछि उनीहरूलाई जिल्ला प्रहरी कार्यलयमा समेत राखिएको थियो । कुनै अप्रिय घटना होला भनेर छुट्टै कोठामा कडा सुरक्षा गरेर राखिएका मध्ये चार जना भागेको सुधार गृहकी इन्चार्ज विमला काउचाले बताइन् । ‘बारम्बार लफडा गर्ने १० जनालाई छुट्टै समूहमा राखेका थियौं,’ उनले भनिन्, ‘तिनैमध्येबाट चार जना भागेका हुन् ।’ बाल सुधार गृहमा २ सय २८ बालक बस्दै आएका छन् ।