लुम्बिनी प्रदेशका नवनिर्वाचित सांसदहरूको शपथग्रहण पुस १६ गते हुने भएको छ। सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री तिलकराम शर्माले बुधवार बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको बताए ।
उनले प्रदेश मन्त्रीपरिषद्को बैठकले पुस १६ गते सांसदहरूलाई शपथ गराउनका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको बताए । शपथ ग्रहण लुम्बिनीको नयाँ राजधानी देउखुरीमा हुनेछ।
यस्तै पुस १५ गते दाङ देउखुरीमा हुने भनिएको मुख्यमन्त्री सम्मेलन स्थगित भएको छ। हालै कार्यान्वयनमा आएको लुम्बिनी प्रदेशको स्थायी राजधानीमा मुख्यमन्त्री सम्मेलन गर्ने प्रदेश सरकारले तयारी थियो ।
अन्य प्रदेशका मुख्यमन्त्रीहरूलाई नयाँ राजधानीमा भ्रमण गराउने र गत ५ वर्ष कार्यकालको समीक्षा गर्न सम्मेलन गरिने भएपनि २ दिन अघि स्थगित भएको मन्त्री शर्माले बताए । उनले कुनै विशेष कारण नभई पछिल्लो राजनीति घटनाक्रमले स्थगित गर्नुपरेको बताए।