काठमाण्डौको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसमा अखिलका विद्यार्थीबीच झडप हुँदा ३ जना विद्यार्थी नेताहरु घाइते भएका छन् ।
स्ववियु चुनावको विषयमा विद्यार्थी संगठनका नेताहरुबीच झडप हुँदा आरआर क्याम्पस अनेरास्ववियुका अध्यक्ष मदन भण्डारीमाथि खुकुरी प्रहार भएको विद्यार्थी नेताहरुले बताएका हुन् । रत्नराज्य क्याम्पसको अनेरास्ववियूका विद्यार्थी नेताहरुमाथि खुकुरी प्रहार हुँदा आरआर क्याम्पस अनेरास्ववियुका अध्यक्ष मदन भण्डारीसहित कमिटीका उपाध्यक्ष लोकेश खड्का, सदस्य हर्क बोहरा र अनेरास्ववियु नेता रवि मगरलगायत घाइते भएको आरआर क्याम्पसका स्ववियु सभापति तपेन्द्रबहादुर शाहीले बताउनुभयो । उहाँले अध्यक्ष भण्डारीको अवस्था भने चिन्ताजनक रहेको बताउनुभयो । घाइतेहरुको अहिले काठमाण्डौ मोडेल अस्पतालमा उपचार भइरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आरआर क्याम्पस अनेरास्ववियुको अध्यक्ष मदन भण्डारीको खुकुरी हानेर गम्भीर अवस्था छ । कमिटीका उपाध्यक्ष लोकेश खड्का, हर्क बोहरा, रवि मगर लगायतका साथीहरु मेलमिलाप गराउन जाँदा उहाँहरुमाथि नै खुकुरी प्रहार भयो । यिनीहरुलाई राज्यले छोड्नु हुँदैन । उनीहरुलाई पढीरहेका छन् भने निलम्बन गर्ने, छैनन् भने पनि कारबाही गर्ने कुरा अघि बढाउने छौँ । ४ जना समातिएका छन्, एकजना द्रुतराज लामा भन्नेले हान्यो भन्ने नाम आएको छ । आरआर क्याम्समा छैनन्, कुनै कमिटीमा छैनन् ।’
सभापति शाहीले खुकुरी प्रहार गर्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको र उनीहरु आरआर क्याम्पसका विद्यार्थी संगठनमा नरहेको पनि बताउनुभयो । उहाँले आरआरमा खुकरी प्रहार गर्नेहरु रहेको खण्डमा निलम्बन गर्ने पनि बताउनुभयो ।