पूर्व पश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरभित्र पर्ने नारायणगढ–गोन्द्रङ सडक खण्डमा अतिक्रमण गरी बनाइएका घरटहरा आज शुक्रवारदेखि भत्काउन सुरु गरिएको छ । सडक विस्तार गरी छ लेनको बनाउने कार्य भइरहेको यस खण्डका अतिक्रमित घरटहरा भत्काउन लागिएको हो ।
डिभिजन सडक कार्यालय चितवनले नारायणगढको पुल्चोकबाट घर भत्काउन सुरु गरेको छ । यो सडक निर्माणका क्रममा ५८ घर भत्काउनुपर्ने देखिएको सडक डिभिजन कार्यालयका प्रमुख रमेश पौडेलले बताउनुभयो ।
कार्यालयले दुई पटकसम्म सूचना जारी गर्दासमेत घरधनीले अटेर गरेपछि भत्काउन लागिएको उहाँको भनाइ छ । घरका टप भत्काउनुपर्नेको सङ्ख्या एक सयभन्दा माथि छ । ती घरको टपबाहेक १० सेन्टिमिटरदेखि १ दशमलव ५ मिटरसम्म भत्काउनुपर्ने पौडेलले जानकारी दिनुभयो ।
सडक ५० मिटर फराकिलो हुने भएकाले त्यसभित्र परेका संरचना भत्काइने उहाँले बताउनुभयो । यसअघि ३५ र १५ दिनको समय दिएर सूचना जारी गर्दा अटेर गरेकाले कार्यालय आफैँले भत्काउन लागेको हो ।