रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र ट्राम रेल चल्ने भएको छ । ट्राम रेलको शुक्रबार शिलान्यास गरिएको छ । एक समारोहका बीच तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले रेलको शिलान्यास गरेका हुन् ।
तिलोत्तमा नगरपालिकाको गौरबको आयोजनाका रुपमा अगाडि सारेको खाँणले बताए । तिलोत्तमा नगरबासीको समग्र साथ र सहयोगमा परियोजना सम्पन्न हुने आशा उनले व्यक्त गरे । तिलोत्तमा नगरमा नगर विकास कोषले एक हजार विगाहामा नयाँ शहर विकास गर्ने काम समेत अघि बढिरहेको उनले बताए । धेरै परियोजनाहरू नगरमा संचालन भइरहेको उनले बताए ।
तिलोत्तमा पब्लिक रेल्वे कम्पनी लिमिटेडका अध्यक्ष हरि तिवारीले समुदाय, स्थानीय पालिका र एडीबी लगायत दातृ निकायहरूको सहयोगमा परियोजना चलाउन लागेको बताए । एक वर्षभित्र ४ किलोमिटरको तयारी पुरा गरेर संचालन हुने उनले बताए । लुम्बिनी प्रदेश सरकारबाट प्राप्त १५ लाख रुपैयाँबाट डीपीआर तयार गरिएको उनले जानकारी दिए ।
रेल्वेका प्रबन्ध निर्देशक भोला शर्माले एक वर्ष ढिलाई भएको बताए । कुल ८ अर्ब लागतमा नगरभित्र ५० किलोमिटरको दुरीमा रेल सेवा संचालन हुनेछ । श्रोत पहिचान गरी आवश्यक पहल अगाडि बढाइएको उनले बताए । प्रदेश र नगरपालिकाबाट ५१ प्रतिशत र जनताबाट बाँकी लगानीको तयारी रहेको उनले उल्लेख गरे । चक्रपथको ४३ फिट भित्री बाटोको छेउमा जोडेर १४ फिट भागमा ट्राम रेल संचालन हुने उनको भनाई छ ।
यो विद्युतबाट चल्ने र ७० जना चढ्न मिल्ने लाईट रेल्वे भएको उनले बताए । रेल सेवामा दैनिक ३० हजार, मासिक ८ लाख र वर्षमा १ करोड मानिसले सेवा लिने तथा यसबाहेक सामान ढुवानी लगायतको समेत सेवा दिन सकिने सम्भावना रहेको उनले बताए । यसबाट वार्षिक १ अर्ब १० करोड आम्दानी गर्ने र खर्च कटाएर १ अर्ब बचत हुने उनले दाबी गरे ।
परियोजना सुरु भएपछि एक सय जना स्थायी कर्मचारीले रोजगार पाउनेछन् । ६ वटा ट्राम टाइगर प्यालेस, ६ वटा ट्राम रोहिणीतर्फ चल्ने उनले बताए । एक दिनमा एउटा ट्राममा एक पटकमा २५ सय चढ्ने सक्ने उनले बताए ।
पहिलो चरणमा चक्रपथ सकेपछि बाँकी हाईवेलाई जोड्ने गरी स्तरवृद्धि र विकास गर्ने लक्ष्य रहेको उनले उल्लेख गरे । रेल्वेमा ५ सय ५० जना संस्थापक सदस्य रहेका छन् । यो रेल्वे देशकै नमुना हुने आशा गरिएको छ ।