नेपाली कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगन थापाबीच छलफल भएको छ । संसदीय दलको नेताको उम्मेदवार छान्न संस्थापन इतर समूहको बैठक बस्नु अघि दुई नेताबीच छलफल भएको हो । तर, भेटघाट भए पनि सहमति भए नभएबारे केही जानकारी आएको छैन ।
संस्थापन इतर समूहबाट कोइराला र थापाले दलको नेताका लागि दाबी गरेका छन् । तर, यो समूहका अन्य नेताले एउटै समूहबाट दुई जना उम्मेदवारभन्दा पनि सहमति गरेर एक जनालाई मात्रै उम्मेदवार बन्न आग्रह गर्दै आएका छन्। संस्थापन इतर समूहले आज सहमति गरेर एक जना उम्मेदवारको मात्रै मनोनयन गर्ने सम्भावना छ ।
कांग्रेसमा संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा संसदीय दलको नेताको उम्मेदवार हुनुहुन्छ । कांग्रेसको निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि आज दिउँसो २ देखि ३ बजेसम्मको समय निर्धारण गरेको छ । अस्ति बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सहमहामन्त्री भीष्मराज आङ्दम्बेको नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो ।
संसदीय दलको नेता छान्न भोलि चुनाव गर्ने तयारी छ ।