निर्वाचन आउन मात्र ३ दिन बाँकी रहँदा अहिले उम्मेद्वारहरु मतदातालाई आकर्षित गर्न घरदैलो एवं भेटघाटमै ब्यस्त छन् । मतदातालाई रिझाउन उम्मेद्वारहरु अन्तिम कसरतमा जुटेका छन् । आज रातीदेखि स्थिर समय समेत सुरु हुँदैछ ।
यसै क्रममा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ शुद्धोधन गाउँपालिका वडा नम्बर १ प्रगतिनगरमा मत माग्न पुगेका बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार चक्रपाणी खनाल ९बलदेव०लाई नेटुवाहरुले राज्यको मूलप्रवाहमा कहिले आफुहरु आउने भनि प्रश्न गरेका छन् ।
यस्तै उनीहरुले कहिले भत्ता पाउने भन्दै उम्मेद्वारलाई सोधेका छन् । उनीहरुले आफु सरहकै पत्थरकट्टा जातिका ब्यक्तिहरुले मासिक रुपमा सामाजिक सुरक्षा भत्ता पाउँदै आए पनि नेटुवा जाति भने अहिले सम्म भत्ताबाट बंचित हुदै आएको दुःखेसो पोखेका छन् ।
राज्यले अल्पसंख्यक जातिका रुपमा सुचीकृत नगरे पछि भत्ताबाट बंचित हुदै आएको उनीहरुको गुनासो छ । बषौंदेखि यही माग राखेर आफुहरुले नेताहरुलाई भोट दिएर जिताउदै आए पनि जिते पछि मुख समेत देखाउन नआएको सञ्जय नेटुवाले गुनासो गरे । ‘हामी दलित जाती भन्दा पनि तल्लो जाती हांै, जातीय संख्यामा पनि निकै कम छौँ तर हाम्रो कुनै सुनुवाई हुदैन’ उनले भने ।
३ दशक देखि सरकार संग माग राख्दै आएपनि अहिले सम्म आफुहरुको कसैले सुनुवाई नगरेको उनीहरुको गुनासो छ । अर्का महेन्द्र नेटुवाले उम्मेद्वारहरु आफुहरुसंग मत माग्न आउदा माग पुरा गर्छौं भन्ने गरेको बताए। उम्मेदवार संग मात्र होईन, पटक–पटक काठमाण्डौ धाएपनि कसैले चासो नदिएको उनले दुःखेसो पोखे । ‘लोपोन्मुख जातीको सूचीमा राख्न माग गर्न थालेको तीन दशक वित्यो तर राज्यले अझै सुनेको छैन’ उनले भने ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ प्रगतिनगरमा १६ घरपरिवार नेटुवाको बसोबास छ । सुकुम्बासी बस्तिमा बसेका उनीहरुको नेपाली नागरिकताको प्रमाण पत्र बाहेक केही छैन् ।
आफुहरु भन्दा माथील्लो जातका रुपमा रहेको पत्थरकट्टाहरुलाई सुचीकृतमा राखेर राज्यले सुबिधा दिए पनि आफुहरु अझैसम्म अल्पसंख्यक जातिका रुपमा पर्न नसकेको गुनासो गरे । थर नटुवा भएको नागरिकता बनाए पनि आफुहरु पथ्थरकट्टा भन्दा तल्लो जाती भएको उनले बताए । ‘हामीभन्दा पथ्थरकट्टा उपल्लो जाती हो उनले भने, ‘हामीले छोएको पानी पनि खादैनन् पथ्थकट्टाहरु ।’
शिक्षा, स्वास्थ्य र रोजगारीबाट समेत बंचीत हुदै आएका उनीहरुको दैनिकी निकै कष्टकर छ । दिनभरी भिक्षा मागेर जिविकोपार्जन गर्ने उनीहरुको दैनिक बनेको छ । पुरुषले सर्प नचाएरै भिक्षा माग्ने गरेका छन् भने महिला तथा बालबालिकाहरुले भिक्षा मागेर ज्यान पाल्दै आएका छन् । नटुवा बसोबासका वरपर ठुला ठुला पक्की घर छन्, अगाडी हुलाकी मार्ग छ, नजिकै विद्यालय छ तर उनीहरुको जीवन अन्धकारमा व्यतित छ ।
विसं २०६८ को राष्ट्रिय जनगणना अनुसार कपिलवस्तुमा २ सय ९१ को हाराहारीमा नेटुवा जातिको बसोबास रहेको छ । कपिलबस्तुमा २०७८ मा गरीएको घरधुरी सर्वेक्षण अनुसार ८२ घर धुरीमा ५ सय ४ जना रहेका छन् ।
जिल्लाको शुद्धोधन गाउँपालिकाको प्रगतिनगर र असुरैना, मायादेबी गाउपालिकाको अभिराव, मनखोरिया र भैसकुण्डा, यशोधरा गाउपालिकाको बसन्तपुर, महाराजगंजको गैडहवा, कृष्णनगर नगरपालिकाको बहादुरगंज लगायतका स्थानमा नेटुवा जाति बस्ने गर्छन ।
घरदैलो तथा नेटुवा जातीको अवस्थाबारे बुझ्न प्रगतिनगर पुगेका बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार चक्रपाणी खनाल ९बलदेव०ले आफुले नेटुवाहरुको माग पुरा गराएरै छाड्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ। नेटुवा जाति अति पछाडिएकाले शिक्षा, स्वास्थ्य, रोजगार लगायतका क्षेत्रबाट बंचित हुदै आएका भन्दै उहाँले अब आफुले उनीहरुलाई अल्पसंख्यक जातिका रुपमा सुचीकृत गराउने बताए । २०७४ सालमा जितेर पनि उनीहरुको समस्या समाधान गर्न नसकेको प्रति आफुलाई ग्लानी भएको भन्दै अबको ५ बर्ष भित्र आफुले उनीहरुको माग सम्बोधन गराउने बताए । ‘५ बर्षे कार्यकालमा मैले कषि, सिचाई लगायतका क्षेत्रमा बढी ध्यान दिए, अब सामाजिक क्षेत्रमा पनि बिशेष ध्यान दिनेछु’ उहाँले बताउनु भयो ।
नेटुवाहरुको शिक्षा, स्वास्थ्य, रोजगारका बिषयमा पनि कुरा पनि उठान गरी ठोस पहल गर्ने उहाँले बताउनु भयो । लोपोन्मुख अल्पसंख्यक समुदायमा पर्ने नेटुवा जातिलाई सामाजिक सुरक्षा भत्तादेखि राज्यको प्रवाहीकरणमा उपस्थितीका लागी उक्त समुदायको दस्तावेजीकरण गर्ने तथा लोपोन्मुख जातीको सुचिमा समावेश गर्ने प्रक्रिया अगाडि बढाइसकिएको समेत उहाँको दाबी छ ।