नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री बन्नका लागि संसदीय दलको नेता हुनुपर्ने भएकाले आउँदै गरेको प्रतिनिधि सभाको चुनावमा जित निकाल्नुको विकल्प नरहेको बताउनुभएको छ ।
बुधवार काठमाण्डौ निर्वाचन क्षेत्र नम्बर ४ मा घरदैलो कार्यक्रममा सहभागी बन्नुभएका महामन्त्री थापाले आसन्न निर्वाचन जितेर पार्टीबाट संसदीय दलको नेताका लागि भिड्ने बताउनुभएको हो । उहाँले आफ्नो पहिलो लक्ष्य प्रतिनिधि सभा सदस्य र दोस्रो लक्ष्य भनेको पार्टीबाट संसदीय दलको नेतामा जितेर प्रधानमन्त्री भइ देशको विकास गर्नु रहेको बताउनु भयो ।
महामन्त्री थापाले हरेक चुनावमा आफूलाई जनता नै शक्ति हुन् भन्ने कुराले डर लाग्ने गरेको बताउनुभयो । उहाँले यसअघिको चुनावमा धेरै स्थानमा उत्साह र सुभेक्षा देखिए पनि अहिले देशभरका विभिन्न स्थानमा चुनावप्रति आम मानिसको सुभेक्षा र उत्साह कम हुँदै गइरहेको बताउनुभयो । उहाँले आफ्नो निर्वाचन क्षेत्रमा भने नेपालको राजनीतिक नेतृत्व परिवर्तनको निम्ति प्रयत्न गर्ने कुरामा आम नागरिकको साथ रहेको र त्यसलाई आफूले पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।
महामन्त्री थापाको निर्वाचन क्षेत्रका मतदाता भने थापाप्रति सन्तुष्ट नै देखिन्छन् । मतदाताहरुले पुराना नेताहरु परिवर्तन गरी देशमा युवा नेताहरु छान्नुपर्ने बेला आइसकेको अभिव्यक्ति दिएका छन् । काठमाण्डौ निर्वाचन क्षेत्र नम्बर ४ का स्थानीय किरण खड्गीले गगनकुमार थापा जस्तो युवा नेतालाई नजिताए देशले विकासमा उच्च लक्ष्य हासिल गर्न नसक्ने बताउनु भयो ।
उहाँले महामन्त्री थापा स्वास्थ्य तथा जनसंख्या मन्त्री रहँदा धेरै राम्रा कामहरु गरेकाले पनि प्रधानमन्त्रीको लागि योग्य भएको र युवालाई जिताउन आवश्यक भइसेकेको बताउनु भयो । त्यस्तै अर्का स्थानीय मञ्जु श्रेष्ठले स्वास्थ्यमन्त्री रहँदा महामन्त्री थापाले स्वास्थ्य बीमा लगायतका धेरै राम्रा कामको थालनी गरेको भन्दै युवाहरुलाई देश विकासको लागि जिताउन आवश्यक रहेको बताउनु भयो । उहाँले काठमाण्डौका जनताले थापालाई जिताएर पठाउने तर प्रधानमन्त्रीका लागि भने पार्टीले के गर्छ भन्नेमा आशंका रहेको बताउनु भयो ।
त्यस्तै अर्का स्थानीय बाबुकाजी मुनिकारले विगतमा पनि महामन्त्री थापालाई भोट हालेको र निर्वाचन क्षेत्र र देश विकासका लागि काम गर्छु भन्ने संकल्प आफूसँग गरेकाले यसपटक पनि महामन्त्री थापालाई नै भोट हाल्ने बताउनु भयो ।
निर्वाचन आयोगले उम्मेदवारहरुलाई सभा, गोष्ठी, सेमिनार लगायतका चुनावी प्रचारप्रसारको समय दिएसँगै अहिले देशभर राजनीतिक दल र उम्मेदवारहरु नागरिकको घरदैलोमा पुगेर भोट माग्न व्यस्त छन् । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारहरुले नागरिकको घरघरमा पुगेर मत माग्ने क्रम जारी छ । निर्वाचन आयोगले मंसिर २ गतेसम्म उम्मेदवारहरुलाई भोट माग्नका लागि, गोष्ठी, सेमिनार, सभा गर्न समय उपलब्ध गराएको छ ।