कात्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
ग्रहणले आज दिउँसो ४ बजेर ५२ मिनेटमा स्पर्श गर्नेछ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ बजेर २४ मिनेटमा सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।
ग्रहणले बेलुकी पौने सात बजे छोड्नेछ । ३२ मिनेट नेपालबाट ग्रहण देखिने उहाँले बताउनुभयो ।
खण्डग्रास सूर्यग्रहण पहाडी र खुल्ला क्षेत्रबाट मात्रै देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।
खण्डग्रास सूर्यग्रहणमा चन्द्रमाले सूर्यको केही भाग मात्र छेकेको देखिन्छ । सम्म परेका भूभागबाट ग्रहण देख्न कठिन हुने सोसाइटीले जनाएको छ ।
नाङ्गो आँखाले भने ग्रहण हेर्न नहुने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो ।
विशेष किसिमको चस्मा लगाएर वा पानीमा छायाँ पारेर हेर्न सकिने उहाँले बताउनुभयो ।
ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ ।
यसैबीच, यही महिनाको २२ गते मङ्गलवार ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दैछ । कात्तिक महिनाको कृष्ण पक्षको औँसीमा सूर्य र शुक्ल पक्षको पूर्णिमामा चन्द्रग्रहण लाग्नेछ । औँसीमा सूर्य र पूर्णिमामा चन्द्रग्रहण लाग्छ ।