आउँदो मंसिर चारका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि देशभरका प्रहरी कार्यालयमा म्यादी प्रहरीले धमाधम तालिम लिइरहेका छन् । उनीहरुलाई आधारभूत तालिम पश्चात निर्वाचन सुरक्षाका लागि खटाउने तयारी भइरहेको छ ।
असोज ३० देखि सुरु भएको तालिम अब कात्तिक ८ गतेसम्म सञ्चालन हुनेछ । तालिम सकिएलगत्तै उनीहरुलाई निर्वाचन सुरक्षामा खटाइने छ ।
कपिलवस्तु जिल्लामा झण्डै २ हजार ४ सय ४० म्यादी प्रहरीले तालिम लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मिनबहादुर घलले बताएका छन् ।
यहाँको सुरक्षा संवेदनशिलतालाई हेरेर म्यादी प्रहरीसहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी पनि निर्वाचन सुरक्षाका लागि खटिने छन् ।
प्रहरी प्रधान कार्यालयले भदौ ३० देखि असोज ६ गतेसम्म देशभरका जिल्ला प्रहरी कार्यालयमार्फत् एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न आह्वान गरेको थियो । कात्तिक ९ गतेदेखि परिचालन गरिने सुरक्षा कार्ययोजनाअनुसार छनोट भएकालाई असोज ३० देखि कात्तिक ८ गतेसम्म तालिम दिइने छ ।
निर्वाचन सुरक्षाका लागि तालिम नेपाल प्रहरीबाट दिने र कार्यअवधिभर म्यादी प्रहरी, प्रहरीकै कमाण्डमा रहेर काम गर्नुपर्ने छ । निर्वाचनका लागि करिब तीन लाख सुरक्षाकर्मी परिचालन गर्ने गृह मन्त्रालयको निर्वाचन सुरक्षा कार्ययोजना छ ।
जसमा करिब ७५ हजार सेना, ६५ हजार प्रहरी, ३२ हजार सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका करिब एक हजार पाँच सय र एक लाख १५ हजार म्यादी प्रहरी खटाउने तयारी गरिएको छ ।
नेपाल प्रहरीको तथ्याङ्कअनुसार सात प्रदेश र उपत्यकाबाट दुई लाख ३२ हजार ७८ जनाले दरखास्त दिएका थिए । त्यसमध्ये एक लाख ७१ हजार ७१० पुरुष र ६० हजार ३७० जना महिलाको संख्या छ । यो संख्या माग गरेभन्दा एक लाख १७ हजार ७८ जना बढी हो ।
प्रदेश १ मा ३५ हजार ८२६, मधेस प्रदेशमा ६६ हजार ८८४, बागमतीमा २१ हजार १०६, गण्डकीमा १५ हजार ९०९, लुम्बिनीमा ४३ हजार ९०५, कर्णालीमा १४ हजार ९३६, सुदूरपश्चिममा २४ हजार ४४० र काठमाडौं उपत्यकामा नौ हजार ७२ जनाको आवेदन परेको छ ।
कुन प्रदेशमा कति म्यादी प्रहरी खटाउने विषय मतदान स्थल र मतदान केन्द्रमा सुरक्षा चुनौती हेरेर कोटा निर्धारण हुने बताइएको छ ।