यसवर्ष कपिलवस्तुमा देउसी–भैलो कार्यक्रम राति ९ बजे सम्म मात्रै खेल्न पाइने जिल्ला प्रशासन कार्याँलयले जनाएको छ ।
राति ९ बजे पछि देउसी सम्बन्धी कुनैपनि कार्यक्रम संचालन गर्न नपाइने प्रमूख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताएका छन् ।
तिहारका बेला खेलिने देउसी–भैलोका कार्यक्रम यसवर्ष जिल्लाका विभिन्न संघ संस्था तथा क्लवहरुले संचालन गर्ने तयारी गरेका छन् । अघिल्ला दुई वर्ष कोरोना महामारीका कारण सामान्य किसिमले मनाइएको तिहारमा यस वर्ष खुल्ला गरिएको छ । यद्यपी रातिको समयमा अबेर सम्म कार्यक्रम संचालन गर्न नपाइने जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले विस्फोटक पदार्थ (पटकाहरू) को ओसारप्रसार, खरिद, बिक्रीमा पूर्णतः रोक लगाएको छ । चाडपर्वमा भुइँचम्पा, पटाका, रकेटजस्ता विस्फोटक र ज्वलनशील वस्तु तथा पदार्थको प्रयोगले आगलागी, धनजनमा क्षति हुन सक्ने सम्भावना र वातावरणमा समेत प्रतिकूल असर पर्नसक्ने भएकाले रोक लगाएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए ।
उनले कोही कसैबाट गैरकानुनी क्रियाकलाप भए÷गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने बताएका छन् ।