पश्चिमका एक दुई ठाउँमा हल्का पानी परे पनि अरु ठाउँमा अबका केही दिन मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली छ । अरु ठाउँको मौसम भने सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो पश्चिम क्षेत्रमा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । तर यो पानीले खासै प्रभाव नपार्ने महाशाखाका मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँका अनुसार अब जाडो क्रमिक रुपमा बढ्नेछ । बादल र वर्षा नहुँदा आकाश खुल्नेछ । चिसो पनि बढ्नेछ । देशभर रहेका १६ वटा मौसम मापन केन्द्रमध्ये सबैभन्दा कम जुम्लामा न्यूनतम तापक्रम एक डिग्री सेल्सियस मापन भएको छ । यो बिस्तारै घटेर माइनसतर्फ जानेछ ।
त्यस्तै काठमाण्डौ उपत्यका, भैरहवा, विराटनगर, धनगढीसहित देशभरकै न्यूनतम र अधिकतम तापक्रम घट्ने क्रममा छ । काठमाण्डौको बिहानको न्युनतम तापक्रम १२ डिग्री सेल्सियस र आजको अधिकतम तापक्रम २५ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । अहिले देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । आज राति देशभरको मौसम सामान्यतया सफा नै रहने अनुमान छ । तत्काल अन्य मौसमी वायु नेपाल प्रवेश गर्ने सम्भावना नरहेकोले अबका केही दिन नेपालको मौसम सामान्यतया सफा नै रहने महाशाखाका मौसमविद् मञ्जु बासीले बताउनुभयो ।