प्रमुख राजनीतिक दलले चुनाव केन्द्रित अभियानलाई तीव्रता दिएका छन् । सत्तारुढ गठबन्धन र विपक्षी गठबन्धनले आ–आफ्नै शैलीमा चुनावी अभियानलाई तीव्र पारेका हुन् ।
उम्मेदवारी दर्तासँगै जिल्ला पुगेका उम्मेदवार र नेताहरु भेटघाट र कार्यक्रममा केन्द्रित छन् । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावलाई केन्द्रमा राखेर दलले मतदातासँग मत माग्नेदेखि, उम्मेदवार परिचय तथा कार्यकर्ता परिचालन सुरु गरेका छन् ।
सत्ता गठबन्धनले सात वटै प्रदेशमा संयुक्त नेता–कार्यकर्ता भेला गर्ने निर्णय समेत गरेको छ । आउँदो चुनावमा तालमेल गरेर संयुक्त उम्मेदवार उठाएका गठबन्धनका दलले चुनावलाई नै लक्षित गरेर सात वटै प्रदेशमा संयुक्त रुपमा प्रदेशस्तरीय कार्यकर्ता भेला गर्ने निर्णय गरेका हुन् ।
काठमाण्डौ उपत्यकाभित्र पनि चहलपहल बढेको छ । उपत्यकामा प्रतिनिधि सभातर्फ १५ निर्वाचन क्षेत्र छन् । यस्तै, प्रदेश सभातर्फ ३० क्षेत्र रहेका छन् । मंसिर ४ गते हुने चुनावका लागि ५ हजार ६ सय ३६ जना उम्मेदवार छन् ।
जसमा प्रतिनिधि सभातर्फ २ हजार ४ सय १२ जना र प्रदेश सभातर्फ ३ हजार २ सय २४ जना छन् । चुनाव आउन अब ३५ दिन मात्रै बाँकी छ।