कर्णाली राजमार्गअन्तर्गत जुम्ला–कालीकोट सडक खण्डको पहिरो हटाउन सुरक्षा निकाय र पालिकाले प्रयास गरिरहेका छन् । गएको हप्ता परेको पानीका कारण पहिरो जाँदा कर्णाली राजमार्ग बन्द भएको छ ।
जुम्ला–कालीकोट खण्ड छिटो खुलाउनका लागि पालिका र सुरक्षा निकाय जुटेका जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिनुभयो ।
जुम्लाको तिला गाउँपालिका रारालिहीमा तीन किलोमिटर खण्डमा पहिरो गएर राजमार्ग बन्द छ । रारालिहीमा तीन वटा एक्स्काभेटर प्रयोग गरिएको छ । केही ठाउँमा ढुङ्गा फुटाउन ब्लास्टिङु गर्नुपर्ने भएकाले सेना पनि खटिएको प्रमुख जिल्ला अधिकारी केशरीले बताउनुभयो । बाटो खुलाउन अझै तीन दिन लाग्ने उहाँले बताउनुभयो ।
यस्तै नाग्म–गमगडी राजमार्गको आठदेखि १० ठाउँमा पहिरो गएर सडक बन्द भएको छ । हिमा गाउँपालिका नाग्म–गमगडी सडकको भूगोलपाटा, बाजागाडा, बड्की, देवारगाउँ, आचार्यलिहीमा पहिरो गएको छ ।त्यस क्षेत्रमा कनकासुन्दरी गाउँपालिका र हिमा गाउँपालिकाले डोजर प्रयोग गरेर सडक खुलाउने प्रयास गरिरहेका छन् ।
मुगु खण्डमा पर्ने सात घुम्ती, पिना, टोप्ला, झ्यारी ताल्चा, तुमालगायतका क्षेत्रमा पनि पहिरो गएको छ । त्यहाँको पहिरो पन्छाउन सेना खटिएको छ ।