झण्डै एक हप्तासम्मको लगातार झरी परेको पश्चिमी क्षेत्रको मौसममा सुधार भएको छ । बाढी र डुबानका कारण प्रभावित भएका ठाउँमा आज बिहानैदेखि घाम लागेको छ ।
तर, मनसुनी प्रणाली कायमै रहेकाले दिउँसो र बेलुकी पख भने क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार तराईमा अब डुबान हुने गरी र बाढी आउने गरी वर्षाको सम्भावना छैन । तर, पहाडी जिल्लामा भने झरीले जमिन गलिसकेकाले पहिरोको जोखिम कायमै छ ।
मौसमविद् पौडेलका अनुसार आज, भोलि र पर्सी दिउँसो तथा बेलुकाको समयमा मौसम बद्ली भइ क्षणिक वर्षा हुन सक्छ । आउँदो शनिवार भने पश्चिमी क्षेत्रसहित देशभरीको मौसम पूर्ण रुपमा खुल्ने मौसमविद्को अनुमान छ ।
मनसुनको अन्तिमतिर परेको ठूलो वर्षाका कारण यसपालि पश्चिमी क्षेत्रमा धेरै असर परेको छ । नेपालमा मनसुनको अवधि गएको दुई तारिख अर्थात १६ गतेसम्म मात्रै रहने भनिए पनि त्यसको एक दुई दिन पछि ठूलो पानी पर्न थालेको थियो ।
अबको दुई तीन दिन पछि पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।