केहीदिनदेखि लगातार परेको बर्षाका कारण बाँकेको धेरैजसो पालिका डुबान तथा बाढीले प्रभावित भएका छन् । झण्डै ५ सय परिवारका कम्तीमा ३ हजार ५ सय विस्थापित भएका छन् । बाढीका कारण सबैभन्दा बढी राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिका प्रभावित बनेका छन्।
राप्ती नदीमा आएको बाढी राप्तीसोनारी गाउँपालिका(२ मा पर्ने टिकुलीपुर बस्तीमा पस्दा ३ सय घरधुरी विस्थापित भएका जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो। विस्थापित भएकालाई विभिन्न आश्रयस्थल र विद्यालयमा राखिएको छ । जोखिम कम भएका ठाउँका नागरिक भने घर फर्किएका छन् । बाढीले नदी तटीय क्षेत्रमा व्यापक कटान गरेको छ ।
त्यस्तै, डुडुवा गाउँपालिकाको कृषि चौफेरी र नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ र २० का तीन सयभन्दा धेरै बासिन्दा पनि डुबानबाट विस्थापित भएका छन । बाढीले नरैनापुरका २ सय घर भत्केका छन् । त्यहाँका ६ वटै वडाका धेरैजसो बस्ती जलमग्न भएका छन् । डुबान क्षेत्रमा घरभित्र पानी जमेकाले बस्न र खाना पकाउन नसक्ने अवस्था भएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद साहले जानकारी दिनुभयो ।
यस्तै, डुडुवा गाउँपालिकामा विस्थापित परिवारलाई राहत तथा खानाको व्यवस्था मिलाइएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बाढीबाट प्रत्यक्ष प्रभावित तथा अश्रयस्थलमा बसिरहेका झण्डै चार सय जनालाई पुग्ने गरी तत्काल तयारी खाजा र खानाको व्यवस्था गरेको बताउनुभएको छ ।