सुदूरपश्चिमका तीन वटा जिल्लामा भारी वर्षा भइरहेको छ । डडेलधुरा, कैलाली र कञ्चनपुरका धेरैजसो ठाउँमा गएरातिदेखि नै ठूलो पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो १२ बजेसम्म नै ठूलो पानी नरोकिने भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ । कान्द्रा, मोहना, खुटिया, सुहेली, चौधर, रङ्गुन र पन्टुरा लगायतका खोला, खहरे र ठूला नदीमा पनि आकस्मिक रुपमा ठूलो बाढी आउन सक्ने भएकाले दिउँसोसम्म नै चनाखो रहन शाखाले आग्रह गरेको हो ।
लगातार ठूलो पानी परेका होँचा ठाउँका मानिसलाई अग्लो ठाउँमा जान सुझाव दिइएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा आज दिउँसो र राति पनि ठूलो पानी पर्ने सम्भावना रहेको छ । भोलि रातिदेखि भने मौसम खुल्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी र मध्य क्षेत्रमा भने मौसम खुलिसकेको छ । तर दिउँसो र बेलुकीपख भने सामान्य पानी पर्ने सम्भावना छ ।
यसैबीच, आउँदो शनिवार वा आइतवारदेखि नेपालबाट मनसुन बाहिरिने भएको छ । नेपालमा मनसुन बाहिरिने औसत समय अक्टोबर २ तारिख अर्थात अघिल्लो हप्ता नै भए पनि यो वर्ष दुई हप्ता ढिलो गरेर मनसुन बाहिरिने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । तर मनसुन रहे पनि पर्सि मङ्गलवारदेखि नै देशभरको मौसम सुधार हुने उहाँले बताउनुभयो ।