जल तथा मौसम विज्ञान विभागले केही दिन वर्षा हुने पूर्वानुमान गरेपछि किसानलाई चिन्ता परेको छ । दशैँको मुखमा पर्ने पानीले किसान पाकेको धान कसरी जोगाउने भनेर चिन्तामा परेका छन् ।
पाकेर काट्ने अवस्थामा पुगेको धान ठूलो वर्षा भएमा नोक्सान हुन सक्ने पीरले सताएको कैलालीको जानकी गाउँपालिकाका रामसुन्दर चौधरीले बताउनुभयो । गएको वर्ष पनि असोज अन्तिम हप्ता तथा कात्तिक पहिलो हप्ताको बेमौसमी वर्षाले क्षति गरेको थियो ।
आजदेखि वर्षाको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले सतर्कता अपनाउन आग्रह गरेको छ । प्रशासनको सूचनापछि धान काट्न नथालेको किसान चौधरीले बताउनुभयो ।
टीकापुर–५ का किसान कृष्णा रावतले पनि मौसमकै सूचनाअनुसार धान काट्नुभएको छैन । यतिखेर धान पाक्ने बेला भएकाले दशैँ मनाउनेभन्दा पनि धान कसरी जोगाउनतर्फ ध्यान गएको किसानले बताएका छन् ।