सुनसरीलगायत पूर्वका जिल्लामा ठूलो पानी परेका कारण कोशी बेसीन क्षेत्रमा सुरक्षा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर सुनसरीको चतरा र आसपासमा पछिल्लो एक घण्टामै ६० मिलिमिटर भन्दा बढी पानी परेको भन्दै कोशी बेसीन क्षेत्रमा बाढी आउनसक्ने चेतावनी दिएको हो ।
वर्षाका कारण सुनसरी र उदयपुर आसपास भएर बग्ने साना नदीहरुमा समेत पानीको बहाव बढ्न सक्ने चेतावनी दिइएको छ ।
नदीहरुमा जुनसुकै बेला पानी पर्न सक्ने भन्दै माहाशाखाले धरान चतरा सडकमा यात्रा गर्दा बढी सावधानी अपनाउन भनेको छ ।
सामान्यतया अक्टोबर दुई अर्थात हिजो नै नेपालबाट बाहिरिनुपर्ने मनसुन अझै केही दिन सक्रिय हुने भएको छ । अहिले बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमतर्फ सर्दै जाने क्रममा भोलिदेखि नेपालमा पनि यस प्रणालीको प्रभाव पर्ने मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।
भोलि देशभर आंशिकदेखि सामान्यतया बदली रही प्रदेश १, मधेश, बाग्मती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।
यस्तै पर्सी बुधवार अर्थात दशैँको टीकाको दिन देशभर बादल लागेर धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । बुधवार पश्चिमी क्षेत्रमा बढी पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बिहिवारदेखी मौसम सुधार हुन थाल्नेछ । मंगलवार र बुधवार यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । यस्तै अबका केही दिन धान नकाट्न र यदि काटेको भए आजसम्ममा भित्र्याइसक्न मौसमविद्हरुको आग्रह छ ।