निर्वाचन आयोगले असोज २६ गते उम्मेदवारलाई चुनाव चिह्न दिने भएको छ। आयोगले असोज २३ गतेदेखि २६ गतेसम्म मनोनयन दर्ता गर्ने र सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न दिने कार्यक्रम तय गरेको छ।
‘सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा असोज २३ गतेदेखि २६ गतेसम्म उम्मेदवारको मनोनयन दर्ता सञ्चालन हुनेछ। मनोनयन दर्ता असोज २३ गते र उम्मेदवारलाई निर्वाचन चिह्न असोज २६ गते प्रदान गर्ने कार्यक्रम छ।’ आयोगले भनेको छ ।
मनोनयन दर्ताको मितिसम्म २५ वर्ष उमेर पूरा भएको नेपाली नागरिकले मात्रै प्रतिनिधिसभा र प्रदेशसभा तर्फ उम्मेदवारी दिन सक्ने आयोगले जनाएको छ। यस्तै उम्मेदवार हुन इच्छुक व्यक्ति कुनै संघीय कानुनले अयोग्य नभएको र कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्ने पनि जनाएको छ।
मनोनयन पत्र दर्ताका लागि उम्मेदवार आफैं उपस्थित हुनुपर्ने वा निजका प्रतिनिधि, प्रस्तावक वा समर्थकले निर्वाचनअधिकृत समक्ष दर्ता गर्नुपर्नेछ।
सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता नामावलीमा नाम भएका व्यक्ति उम्मेदवारको प्रस्तावक वा समर्थक हुन पाउने आयोगले व्यवस्था गरेको छ।
त्यस्तै उम्मेदवार आफैं अरु कुनै उम्मेदवारको प्रस्ताव वा समर्थक बन्न नहुने आयोगले जनाएको छ। आयोगका अनुसार मनोनयन पत्र दर्ता गर्दा प्रतिनिधिसभा सदस्यका लागि १० हजार र प्रदेशसभा सदस्यका लागि ५ हजार धरौटी जम्मा गर्नुपर्नेछ। महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा भने धरौटी रकममा ५० प्रतिशत छुट दिइने आयोगले जनाएको छ ।