बुद्ध जन्मस्थल लुम्बिनीमा लामो समयदेखि थन्केर बसेका विद्युतीय बस आजबाट सुचारु भएको छ । बिहीबार लुम्बिनीमा आयोजित कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवेधकुमार त्रिपाठी, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलगायतले विद्युतीय बसको शुभारम्भ गरेका हुन् ।
लुम्बिनी क्षेत्रमा अत्यधिक भएको प्रदूषण केही हदसम्म रोक्न भनी एडीबीले लुम्बिनीमा सञ्चालन गर्न तीन वर्ष अगाडि पाँचवटा विद्युतीय बस र १४ वटा विद्युतीय ट्याक्सी कार लुम्बिनी बिकास कोषलाई अनुदानमा दिएको थियो । दशै तिहारलाई लक्षित गर्दै बुद्ध सर्किटको पाँच रुट बस परीक्षणकालका लागि सुचारु गरिएको हो ।
पर्यटन नागरिक उड्डयन तथा संस्कृति मन्त्रालयले विद्युतीय सवारीसाधन सञ्चालन गर्न १९ जेठमा कार्यविधि बनाउने निर्णय गरेसँगै कोषाध्यक्ष ढुण्डीराज भटराई (सिद्धिचरण)को संयोजकत्वमा बोर्ड सदस्यहरू विश्वराज पौडेल र राजेश शाक्य सदस्य रहेको तीन सदस्यीय कार्यदल गठन भएको थियो ।
कार्यदलले गाडीको अवस्था, रुट, चार्जिङ स्टेसनलगायतका विषयमा प्रतिवेदन र कार्यविधिको खाका बुझाएपछि बस भने परीक्षण कालका लागि सुचारु भएको छ । केही ट्याक्सी भने विकास कोषले स्वयं प्रयोग गरिरहेको छ ।