बुटवल उपमहानगरपालिकाले ठुला योजनालाई कार्यान्वयनको चरणमा अघि बढाएको छ । बुटवल उपमहानगरपालिकाले बुधबार गरेको नियमित पत्रकार सम्मेलनमा उपमहानगर प्रमुख खेलराज पाण्डेयले त्यस्ता योजनाबारे जानकारी गराएका हुन् ।
सिद्धार्थ बाल तथा महिला अस्पताल ९आम्दा०को स्तरोन्नति, कृषि बजार केन्द्र स्थापना, सूचना केन्द्र निर्माण, प्रदेशस्तरीय बसपार्कजस्ता योजना कार्यान्वयनको प्रक्रियामा अघि बढेको उनले बताए । बुटवललाई आर्थिक, स्वास्थ्य र शिक्षाका हिसाबले अग्रणी बनाउने गरी केही योजना अघि बढेको र ती योजनाले छिटै मूर्त रूप लिने उनको भनाइ थियो ।
आम्दा अस्पताल ३ सय बेडमा स्तरोन्नति गर्ने, नयाँ बसपार्कलाई स्थानान्तरण गरी बहुतले पार्किङस्थल निर्माण गर्ने, बसपार्क निर्माण गर्ने, छाडा चौपाया व्यवस्थापनका लागि गौशाला सञ्चालन गर्ने जस्ता काम अगाडि बढेको उनले जानकारी दिए । ती योजना सम्पन्न भएपछि बुटवललाई व्यवस्थित सहरको रूपमा स्थापित गर्ने दाबीसमेत उनले गरे ।
बुटवलको मुख्य सडक निर्माणमा भएको अलमल समाधान गरी सडक निर्माणलाई निरन्तरता दिन अगुवाइ गरेको, मोतीपुर औद्योगिक क्षेत्रको विवाद समाधान गर्न जग्गा यकिन गरी औद्योगिक क्षेत्र निर्माणका लागि अगुवाइ गरेको पनि उनले बताए । उपप्रमुख सावित्रीदेवी अर्यालले बुटवलको बजारलाई व्यवस्थित गर्न नियमित अनुगमन गरिरहेको र आगामी दिनमा थप कडाइका साथ नियम पालना गराइने बताइन् ।