आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आज देखि निर्वाचन आचार संहिता लागू भए पनि त्यसलाई बेवास्ता गदै लुम्बिनी प्रदेशसभाले कार्यक्रम तय गरेको छ । लुम्बिनी प्रदेशसभाले निर्वाचन आचार संहिता उल्लङ्घन गर्दै सम्मान र शुभकामना आदान प्रदान कार्यक्रम १४ गते गर्ने तयारी गरेको हो ।
निवर्तमान प्रदेश सभा सदस्यहरूलाई पठाएको सूचना अनुसार प्रथम प्रदेशसभाको कार्यकाल सम्पन्न हुन गइरहेकाले असोज १४ गते दिउँसो १ बजे नयाँ प्रदेशसभा भवन स्थायी राजधानी दाङको मोरीघाढ देउखुरीमा सम्मान र शुभकामना कार्यक्रम राखिएको उल्लेख छ ।
निर्वाचन आचार संहिता जारी हुने सूचना आए लगत्तै निवर्तमान सांसदहरूलाई प्रदेशसभा सचिव दुर्लभ पुन मगरले कार्यक्रम गर्ने सूचना जारी गरेका छन् । जबकि निर्वाचन आचार संहितामा सरकारले नयाँ नीति, योजना र कार्यक्रम घोषणा गर्न पाउने छैन भन्ने उल्लेख गरिएको छ ।
यस्तै, प्रधानमन्त्री र मन्त्री, प्रदेशका मुख्यमन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै चुनावी प्रचार गर्न पाउने छन् । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले सामान्य कार्यक्रम भन्दा बाहिर गएर कार्यक्रम गर्न नपाउने बताए । उनले भने , कार्यक्रम कस्तो राखिएको हो त्यस विषयमा बुझेर आयोगका सचिवसँग सल्लाह गरी अगाडि बढ्ने छौ ।
लुम्बिनी प्रदेशसभाको अन्तिम कार्यक्रम गरेर भए पनि मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नै कार्यकालमा राजधानीको संरचना स्थायीमा ल्याएको जस लिन निवर्तमान सांसदलाई सम्मान कार्यक्रम राखेको विपक्षीको दल एमालेको आरोप छ । एमालेले उक्त कार्यक्रम सहभागी नहुने जनाएको छ ।
नेकपा एमाले लुम्बिनी प्रदेशसभाका निवर्तमान प्रमुख सचेतक भूमेश्वर ढकालले आफूहरू सहभागी नहुने बताए । उनले भने , त्यसरी अन्तिममा निर्वाचनमा प्रभावित गर्ने गरी मोरीघाढमा कार्यक्रम गर्नु गलत छ । उनले प्रक्रियागत हिसाबले प्रदेशसभा सदस्यहरूको कार्यकाल सकिएकोले कार्यक्रममा एमालेबाट प्रतिनिधित्व गर्ने कोही पनि सहभागी नहुने प्रष्टाए ।
प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले प्रदेशसभाको आन्तरिक कार्यक्रम भएकाले आचारसंहिता लागू नहुने दाबी गर्दै बजेट दिएको कार्यक्रम गर्न किन नपाउने भन्दै प्रतिप्रश्न गरे ।