नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भएको आरोप लगाउनुभएको । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि नेता पौडेलले यस्तो आरोप लगाउनुभएको हो ।
सामाजिक सञ्जाल ट्विटरमार्फत नेता पौडेलले जन निर्वाचित सभाबाट अनुमोदनसहित प्रस्तावित विधेयकको संवैधानिक अधिकार प्रयोग गर्नुपर्नेमा राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भएको टिप्पणी गर्नुभएको छ । उहाँले बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनु व्यवस्थामाथिकै प्रहार भएको उल्लेख गर्नुभएको छ ।
यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक स्वार्थपूर्तिका लागि संविधान र राष्ट्रहितलाई तिलाञ्जली दिने प्रयास असफल भएको टिप्पणी गर्नुभएको छ । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत राष्ट्रपतिको यो निर्णय राजनीतिक रुपमा विवादमा परे पनि इतिहासले प्रशंसा गर्ने उल्लेख गर्नुभएको छ । ‘राजनीतिक स्वार्थ परिपूर्तिका लागि संविधान र राष्ट्रहितलाई तिलाञ्जली दिने प्रयास असफल भएको छ । राजनीतिकरुपमा विवादमा पर्ला, तर राष्ट्रपति विद्या भण्डारीको यो निर्णय इतिहासले प्रशंसा गर्नेछ’ उहाँले लेख्नुभएको छ ।